• २०८१ बैशाख १५ शनिबार

लोसपामा विवाद, महतोले केन्द्रीय समिति बहिष्कार गर्ने

kharibot

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच विवाद बढेको हो ।

अध्यक्ष ठाकुरले एकलौटी गरेको भन्दै नेता महतोले पार्टीको केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने भएका हुन् । आजदेखि बस्न लागेको केन्द्रीय समिति बैठक गत असोज ८ गते ३११ सदस्यीय केन्द्रीय समितिको घोषणापछि पहिलो पटक बस्न लागेको हो ।

वरिष्ठ नेता महतोले केन्द्रीय समिति विस्तारमा पार्टीमा योगदान दिएका नेताहरुलाई नसमेटिएको भन्दै असन्तुष्टि जनाउदै आएका छन् । लोसपाको ३११ सदस्यीय केन्द्रीय समितिमा ६३ जना पदाधिकारी छन् तर अहिले धेरैजसो निस्कृय देखिन्छन् । लोसपामा ६ जना वरिष्ठ उपाध्यक्ष र १५ जना उपध्यक्ष छन् । त्यस्तै १६ जना महासचिव छन् ।

२०७८ भदौमा गठन भएको लोसपाको गत असोजमा केन्द्रीय समिति विस्तार गरिएको थियो । २०७४ को चुनावमा प्रतिनिधिसभातर्फ १७ सिट ल्याएर तेस्रो शक्ति बनेको ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले २०७९ को चुनाव लोसपाबाट लडेको थियो । त्यसबेला सो पार्टीले थ्रेसहोल्ड पनि कटाउन नसकेपछि राष्ट्रिय पार्टी बन्न असफल भएको थियो ।

तत्कालीन समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनेपछि एक वर्षमै फेरी विभाजन भएको थियो । लोसपा बनेर २०७९ को निर्वाचनमा ४ सिट जितेको थियो भने मधेश प्रदेशमा ९ र लुम्बनी प्रदेशमा ३  सिट मात्र जितेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै