• २०८१ बैशाख १७ सोमबार

चितवनको रामपुरमा कृषि वैज्ञानिक सम्मेलन

kharibot

भरतपुर । चितवनको रामपुरमा हुने पहिलो कृषि वैज्ञानिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु हुने सो सम्मेलनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरु सहभागी हुने कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरद्वारा आज  भरतपुरमा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।

पहिलो स्नातक कार्यशाला ९फस्ट ग्राजुएट कन्फ्रेन्स० यही मङ्सिर ७ देखि ९ गतेसम्म रामपुरमा हुन लागेको हो । कृषि विश्वविद्यालयका अनुसन्धानका उपलब्धिहरुलाई प्राज्ञिक एवं सरोकारवाला समुदायहरुमा सुसूचित गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको सम्मलेनका संयोजक डा ऋषिराम कट्टेलले जानकारी दिए । 

शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ । सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरुद्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी एक सय हाराहारीमा कार्यपत्र प्रस्तुत गरिने छ । जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु सम्मेलनमा प्रस्तुत गरिने छ । जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित तीन सयभन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले बताउनुभयो । सम्मेलनको निष्कर्षले विश्वविद्यालयले आगामी दिनमा हुने अनुसन्धानको बाटो तय गर्ने अपेक्षा लिइएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले सन् २०१३ बाट पठनपाठन सुरुआत गरेको हो । अहिलेसम्म करिब पाँच हजार विद्यार्थीले अध्ययन पूरा गरेका छन् । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थी आयोजकका रहनेछन् । सम्मेलनमा उत्कृष्ट कार्यपत्रलाई पुरस्कारको समेत व्यवस्था गरिएको उनले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै