• २०८१ बैशाख २० बिहीबार

अपराध अनुसन्धानमा नेपाल प्रहरी सक्षम- मुख्यमन्त्री जम्कट्टेल

kharibot

मनहरी (मकवानपुर) । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अपराध अनुसन्धानमा नेपाल प्रहरीसक्षम रहेको बताएका छन् । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले ६८औँ प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा र अमनचयनमा नेपाल प्रहरीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । प्रहरी सङ्गठनलाई समय सापेक्ष रुपान्तरण गर्दै अझ सुदृढ बनाउनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिए ।

प्रदेशले संविधानमा व्यवस्था गरिएको अधिकार क्षेत्रमा रहेर काम गर्दा सङ्घीय कानुनले विभिन्न बाधा व्यवधान देखाएकाले प्रहरी समायोजनले समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे । प्रदेश सरकारको मातहतमा प्रहरी सङ्गठन आएपछि मातहतका निकायलाई रुपान्तरण गर्दै लैजान सजिलो हुने मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । 

प्रहरी सेवालाई सङ्ख्यात्मक मात्र होइन प्रविधिको प्रयोग गरेर अपराध नियन्त्रण गर्न लाग्नुपर्नेमा उनले जोड दिए । प्रहरी अस्पतालको निर्माण बहुवर्षीय आयोजनाको रुपमा अगाडि बढेको बताउँदै यसका लागि चालु आवबाटै बजेट व्यवस्था गरिएको जानकारी पनि कार्यक्रममा गराइएको छ । 

सोही अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको शान्ति सुरक्षामा प्रहरी सङ्गठनले खेलेको भूमिकाप्रति सम्मान व्यक्त गरे । 

कार्यक्रममा पूर्वप्रहरी हवल्दार डम्बरबहादुर सापकोटा (खत्री)लाई सम्मान गरिएको थियो भने प्रदेश प्रहरीका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । साथै  विभिन्न स्थानीय तह, समाजसेवी, सञ्चारक्षेत्र र सङ्घसंस्थालाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले  ६८औँ प्रहरी दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै शान्ति सुरक्षा र अमनचयनमा प्रहरी कटिबद्ध भई लागिरहेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै