• २०८१ बैशाख २६ बुधबार

६७ ब्रोकर कम्पनी सञ्चालनमा, ७ वटा थप्ने अन्तिम तयारी

kharibot

काठमाडौ । दोस्रो बजारमा नयाँ ब्रोकरहरु थपिएसँगै हाल ६७ वटा ब्रोकरमार्फत सेयर कारोबार हुँदै आएको छ ।

नयाँ थपिएपछि पुराना ब्रोकर कम्पनीहरुले पनि थप प्रतिस्पर्धाको सामना गर्नुपरेको छ । तसर्थ, ब्रोकर कम्पनीहरुले नयाँ नयाँ योजना ल्याएर लगानीकर्तालाई आकर्षण गर्नुपर्ने एक किसिमको बाध्यता नै सिर्जना भएको छ । ब्रोकरहरु प्रतिस्पर्धी हुँदा लगानीकर्तालाई भने फाइदै हुने देखिन्छ । 

पुरानालाई सेवा सुविधा चुस्त र सहज बनाएर सेवाग्राहीलाई आफ्नै कम्पनीमा टिकाइ राख्न प्रयास गर्नुपर्ने देखिएको छ भने नयाँलाई ग्राहक आकर्षित गर्नुपर्ने चुनौती छ । धितोपत्र बोर्डले ३७ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । जसमध्ये १७ वटाले कारोबार थालिसकेका छन् । अरु ७ वटा कारोबार सञ्चालनको अन्तिम तयारीमा रहेको नेप्सेले जानकारी गराएको छ । 

धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि ४३ वटा कम्पनीलाई आसयपत्र दिएको थियो । आसयपत्र पाउनेमध्ये ३७ वटा कम्पनीलाई बोर्डले लाइसेन्स दिइसकेको छ । अब बोर्डबाट आसयपत्र पाएका मध्ये ६ वटा कम्पनीले लाइसेन्स पाउन बाँकी छ । 

यी कम्पनीले पनि आवश्यक पूर्वाधार पूरा गरेर बोर्डमा जानकारी गराएपछि अनुगमन गरेर बोर्डले क्रमिक रुपमा लाइसेन्स दिने धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले नेपाली पैसालाई बताए । उनले भने, ‘पूर्वाधार तयार भएको जानकारी बोर्डमा दिएपछि हामी अध्ययन गरेर क्रमिक रुपमा लाइसेन्स दिने छौं ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै