• २०८१ बैशाख १७ सोमबार

नक्सा फलो गर्दा दुर्घटनामा गयो ज्यान, गुगलविरुद्ध मुद्धा दायर !

kharibot

काठमाडौँ । अमेरिकाको नर्थ क्यारोलिनामा एक परिवारले प्रविधि कम्पनी गुगलविरुद्ध लापरवाही गरेको भन्दै मुद्दा दायर गरेको छ । गुगल नक्सा पछ्याउने क्रममा गत वर्ष सेप्टेम्बर ३० मा परिवारका सदस्य फिलिप प्याक्सनको मृत्यु भएको थियो ।

प्याक्सनले जीपीएसको सहायताले अज्ञात मार्गमा कारमा यात्रा गरिरहेका थिए । गुगल नक्साले तिनीहरूलाई पठाएको पुल भाँचिएको थियो । प्याक्सनले केही बुझ्नुअघि नै उनको कार पुलबाट २० फिट तल खसेर ज्यान गुमाए ।

पुल भाँचिएको भन्दै स्थानीयले गुगल म्यापमा जानकारी दिएको परिवारको आरोप छ । यति हुँदाहुँदै पनि कम्पनीले नेभिगेसन प्रणाली अपडेट नगरेपछि यो दुर्घटना भएको बताइएको छ । सो पुल ९ वर्षअघि नै भाँचिएको बताइएको छ ।

फिलिप प्याक्सन, दुई छोराछोरीका बुबा, एक मेडिकल कम्पनीको सेल्सम्यान थिए । गत वर्ष सेप्टेम्बर ३० मा छोरीको जन्मदिन मनाएर घर फर्किनेक्रममा सो दुर्घटना भएको बताइएको छ । 

नेभिगेसन प्रणालीले उनीहरूलाई नौ वर्षअघि भत्किएको र मर्मत नगरिएको पुलको बाटो देखाएको थियो र उनी कार लिएर पुलमा चढेपछि २० फिट तल खसेका थिए । दुर्घटनापछि नजिकैका केही सुरक्षाकर्मी घटनास्थल पुगेका थिए । घटनाका अनुसार, प्रत्यक्षदर्शीहरूले त्यो भत्किएको पुलमा कुनै चेतावनी चिन्ह समेत नभएको बताएका छन् ।

नर्थ क्यारोलिना पुलिसका अनुसार स्थानीय वा राज्य अधिकारीहरूले पुलको मर्मत नगरेको र पुल निर्माण गर्ने कम्पनी बन्द भएको थियो। मुद्धामा पुल र वरपरको जग्गाको लागि जिम्मेवार रहेको दाबी गर्ने धेरै निजी निर्माण कम्पनीहरूको नाम पनि राखिएको छ ।

मुद्दाका अनुसार, धेरै व्यक्तिहरूले प्याक्सनको मृत्यु अघि गुगल नक्सामा मार्ग अपडेट गर्न सुझाव दिएका थिए । यस केसमा स्थानीय बासिन्दाको इमेल रेकर्डहरू समावेश छन् जसले कम्पनीलाई सचेत गराउन सेप्टेम्बर २०२० मा गुगल नक्सामा सुझाव विकल्प प्रयोग गरेका थिए ।

नोभेम्बर २०२० मा, गुगलबाट एक पुष्टिकरण रिपोर्ट पनि आएको थियो, जसमा यो भनिएको थियो कि यसले प्रयोगकर्ताहरूले दिएका सुझावहरूको समीक्षा गरिरहेको छ । तर गुगलले थप कुनै कारबाही नगरेको दाबी गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै