काठमाडौँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने वाचा पूरा नगरेको भन्दै सामाजिक अभियन्ता ई: ले ७७ घण्टा उभिएर विरोध शुरु गरेका छन् । उनीसहितका अभियन्ताहरु काठमाडौं महानगरपालिकाको कार्यालयअघि ७७ घन्टासम्म उभिदै मंगलबारदेखि दिउसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएर विरोध शुरु गरेका हुन् ।
ई: ले शुक्रबार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन् ।
उनले काठमाडौं महानगरका मेयर बालेनले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग राखेका छन् । उनीसँगै अन्य केही युवाहरू पनि राष्ट्रिय सभाअघि प्लेकार्ड लिएर उभिएका छन् ।
फुटपाथ व्यवसायीहरूलाई विकल्प नदिई हटाएको भन्दै काठमाडौं महानगर र मेयर बालेनको आलोचना हुदै आएको छ । अझ महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार सामाजिक सञ्जालमा भाइरल नै हुने गरेका छन् ।
इशान अधिकारी उर्फ ई: कोरोना महामारी बेलामा इनफ इज इनफ आन्दोलनको नेतृत्व गरेर चर्चामा आएका थिए ।