• २०८१ बैशाख १६ आइतबार

खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन

kharibot

बाजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा विपद् र जिल्ला कारागारका कैदीका लागि मात्र एक सय ५० क्विन्टल चामल मौज्दात रहेको शाखाका प्रमुख मेखराज ओझाले जानकारी दिए । सर्वसाधारणका लागि राखिएको चामल सकिएको उनले बताए । विपद् र कारागारका लागि मात्र चामल राखिएको र सर्वसाधारणलाई बिक्री गर्ने चामल सकिएकाले चामल बिक्री बन्द गरिएको शाखाले सूचना जारी गरेको छ । 

मार्तडीस्थित डिपोमा चामल सकिएपछि सूचना टाँस गरी गोदाममा ताला लगाइएको छ । डिपोमा रहेको मौज्दात चामल सकिएको हुँदा ठेक्का प्रक्रियाबाट ढुवानी नहुञ्जेलसम्म खाद्यान्न बिक्री वितरण कार्य बन्द गरिएको शाखा प्रमुख ओझाले बताए । 

पूर्वी उत्तरी भेगको कोल्टीस्थित डिपोमा भने दुई सय क्विन्टल चामल मौज्दात छ । कोल्टी डिपोमा रहेको चामल एक साताका लागि मात्र पुग्ने भएकाले एक सातापछि ताला लगाएर बिक्री बन्द गरिने सार्वजनिक सूचना टाँस गर्नुपर्ने अवस्था आएको प्रमुख ओझाको भनाइ छ । 

“ठेक्काका लागि बोलपत्र आह्वान गरेका छौँ । त्यसपछिको प्रक्रिया चलिरहेको छ । यस्तै ढिलासुस्ती भए दसैँसम्म पनि चामल नआउन सक्छ”, ओझाले भने । जिल्लाको हिमाली गाउँपालिकामा खाद्यान्न सङ्कट भएको पाँच महिनाभन्दा बढी भएको छ । गाउँपालिकाको कवाडीस्थित अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल जेठमा सकिएपछि पाँच महिनादेखि खाद्यान्न सङ्कट भएको स्थानिय धनलाल रोकायाले बताएका छन् । 

ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छ्याँ, गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ र ५ को रुगीनमा खाद्यान्न सङ्कट भएको हो । यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत खाद्यान्न सङ्कट भएको छ । हिमाली गाउँपालिका–१ बिच्छयाँका धर्मलाल रोकाया दुई दिन लगाएर कवाडी अस्थायी डिपोमा चामल किन्न आएका भए पनि डिपोमा चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फर्किएका छन् । 

आव २०७९-८० मा कवाडी डिपोमा तीन हजार पाँच सय क्विन्टल चामल थियो । कवाडी डिपोको कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा चामल मौज्दात नरहेको शाखाले जनाएको छ । आव २०८०-८१ मा कवाडी डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामलको कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो छैन । कवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकिलो रु ५२ मा बिक्री हुने गरेको थियो । डिपोमा चामल अभाव भएपछि सर्वसाधारणले बजारमा प्रतिकिलो रु ८० मा हालेर चामल किन्ने गरेका छन् । 

साविकको बिच्छ्याँ गाविसमा मात्र चार हजार जनसङ्ख्या रहेको छ । डिपोमा चामल सकिएपछि बिच्छ्याँका घरघरमा खाद्य सङ्कट भएको छ ।  स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ ।  हिमाली गाउँपालिका जिल्लाकै दुर्गम तथा विकट गाउँपालिका हो । गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्री  केन्द्रमा पनि चामल सकिएको चार महिना पुगेको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताएका छन् । गत आवको पाँच सय क्विन्टल चामल जेठ अन्तिम सातामा सकिएको हो । यो आवको चामल पाँच सय क्विन्टल रहेको भए पनि ढुवानी ठेक्का प्रक्रियामा रहेको छ । जिल्लाका खाद्य डिपो र अस्थायी बिक्री केन्द्रमा चामल सकिएको भए पनि ढुवानी प्रक्रिया कहिले सकिने हो, कहिले चामल ढुवानी हुने हो यकिन नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख ओझाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै