• २०८१ बैशाख १५ शनिबार

रोल्पा नगरपालिकाको प्राथमिकतामा कृषि

kharibot

रोल्पा । कृषि क्षेत्रमा ठूलो लगानी भए पनि प्रतिफल नदेखिएको भन्दै आलोचना भइरहेको बेला रोल्पा नगरपालिकाले भने कृषिमा प्रतिफल देखिने गरी काम अघि बढाएको छ । 

नगरपालिकाले मध्यम स्तरको कृषि जनशक्ति उत्पादन देखि उत्पादनमा आधारित अनुदानसम्मका कार्यक्रम अघि सार्दै कृषकले अनुभूती गर्ने गरेर काम अघि बढाएको छ । कृषि र पशु विज्ञान अध्ययन गर्नेहरुका लागि नगरपालिकाले हरेक वर्ष निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । 

तीनवर्षे डिप्लोमा तहको पठनपाठनका माध्यमबाट मध्यमस्तरको जनशक्ति तयार भई नगरभित्रको कृषि प्राविधिकको आवश्यकता पूरा हुने नगरपालिकाले अपेक्षा लिएको छ । त्यसका लागि वडा नं १ मेवाङमा रहेको बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिइने गरेको छ । चालु आर्थिक वर्ष नगरपालिकाले सात जनालाई बाली विज्ञान र सात जनालाई पशु विज्ञानमा छात्रवृत्ति दिन कार्यक्रम अघि सारेको छ ।

नगरपालिकाले वडा नं ३ र ४ लाई दूध पकेट क्षेत्रका रुपमा विकास गर्न अघिल्लो वर्ष ४० उन्नत जातका भैँसी वितरण गरेको जनाएको छ । नगरपालिकाले किसाहरुलाई घरमै प्राविधिक सहायता र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाइएको जनाएको छ । किसानहरुले उत्पादन गरेको दूध सहज खपतका लागि सदरमुकाम लिवाङमा दुग्ध सहकारीसमेत स्थापना गरिएको छ । 

नगरपालिकाको सहजीकरणमा दुग्ध किसानहरुले गत वर्षको पुसमा उक्त सहकारी स्थापना गरेका थिए । सहकारी स्थापना भएयता कृषकहरुले करिब ३० हजार लिटर दूध बिक्री गरेको सहकारीले जानकारी दिएको छ । उक्त दूधको नगरपालिकाका तर्फबाट प्रतिलिटर रु पाँचका दरले अनुदान दिने गरिएको छ । हालसम्म किसानहरुले करिब रु एक लाख ५० हजार अनुदान लिइसकेका छन् ।

नगरपालिकाले चालु आर्थिक वर्षदेखि वडा नं १ देखि ७ सम्मलाई ‘मिल्क करिडोर’ बनाउने गरि कार्यक्रम तय गरिएको नगरप्रमुख सुरेन्द्र थापा घर्तीले जानकारी दिए ।  । नगरपालिकाले चालु आर्थिक वर्षमा उन्नत जातका ४० गाई वितरण गर्ने योजना अघि सारेको छ ।

त्यसका लागि नगरपालिकाले रु ४० लाख बजेटसमेत विनियोजन गरेको जनाएको छ । किसानले उत्पादन गरेर बढी भएको दूध जिल्लाबाहिर लैजान नगरपालिकाले सहजीकरण गर्नेसमेत नगर प्रमुख घर्तीमगरले जानकारी दिए । 

कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई बजारीकरणका लागि कृषि हाट बजारसमेत सञ्चालनमा आएको छ । केही समय कर्मचारी मिलन केन्द्र नजिकै स्थापना गरिएको उक्त हाट बजार केही दिनयता हाट बजार केन्द्रबाटै सञ्चालन भइरहेको छ । हाट बजार सञ्चालन भएयता कृषकहरुले झन्डै ५० हजार किलो तरकारी बिक्री वितरण गरेका छन् । 

व्यावसायिक किसानहरुलाई प्रोत्साहित गर्न नगरपालिकाले तरकारीमा प्रतिकिलो रु पाँच र केरामा प्रतिगोटामा रु दुईका दरले ढुवानी अनुदान दिने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चिस्यान गुह निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । त्यसका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजनसमेत गरेको छ । 

यसका साथै कृषि एम्बुलेन्स खरिदका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ । यसै वर्ष देखि कृषि उपजको समर्थन मूल्य कायम गरि नगरपालिकाबाटै खरिद, भण्डारण तथा बजार व्यवस्थापनको प्रबन्ध मिलाउने नगरपालिकाको भनाइ छ ।

विदेशवाट फर्केका ४२ युवालाई स्वदेशमै स्वरोजार बनाउने कार्यक्रमसमेत नगरपालिकाले अघि सारेको छ । कृषि र पशुजन्य क्रियाकलापबाट स्वरोजगार बनाउँदै उद्यमशील बनाउन नगरपालिकाले अघिल्लो वर्ष रु १७ लाख २० हजार अनुदान वितरण गरेको थियो । 

पहिलो चरणमा ३२ युवालाई तीनदिने व्यावसायिक पशुपालन तालिम प्रदान गरेको नगरपालिकाले जनाएको छ । बाख्राको नस्ल सुधारका लागि नगरपालिकाले ५० बोयर बोका किसानलाई वितरण गरेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै