• २०८१ बैशाख २४ सोमबार

गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टको जग्गा अनियमितता प्रकरणको छानबिन गर्न सांसदको माग

kharibot

काठमाडौँ । सांसदहरुले गिरीबन्धु टी स्टेट र नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा प्रकरणमा अनियमितता भएको चर्चा सञ्चारमाध्यम लगायतमा आइरहेकाले यसको छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार केसीले गिरीबन्धु टी स्टेटमा हदबन्दी छल्ने गरी कानुन बनाएर भ्रष्टाचार गरिएको दाबी गरे ।

नेपाल ट्रष्टका नाममा रहेको गोकर्ण फरेस्ट रिसोर्टको जग्गा कौडीको भाउमा नेपाल सरकारले यति होल्डिङसलाई भाडामा दिएकाले छानबिनको माग गरेका हुन् ।

सांसद रामहरि खतिवडाले पनि गिरीबन्धु टी स्टेटका विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरे । भ्रष्टाचारका काण्डमा छानबिन भइरहेका बेला यी घटनामा तत्काल छानबिन गरी दोषी पत्ता लगाउन उनले माग गरेका हुन् । सांसद महेश बस्नेतले इलाम र झापामा रहेका चिया बगान निजीकरणका नाममा भ्रष्टाचार भएको भन्दै छानबिन गरिनुपर्ने बताए ।

सांसद भानुभक्त जोशीले शून्य समयका विषय सरकारले सम्बोधन नगरेको बताउदै संसद्मा उठेका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । सांसद मङ्गलप्रसाद थारुले सरकारी निकायमा बेरुजु बढ्दै गएकाले यसको नियन्त्रण गरी भ्रष्टाचार रोक्न माग गरे । सांसद योगेशकुमार भट्टराईले पहाडी जिल्लामा जग्गाको वर्गीकरण अव्यावहारिक भएकाले सच्याउन माग गरे ।

ताप्लेजुङ जिल्लामा कर कार्यालय नभएकाले कर तिर्न पनि समस्या रहेको उल्लेख गर्दै उनले कर कार्यालय जिल्लामै खोल्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद रघुजी पन्तले चुच्चे नक्साका विषयमा सरकारले अहिलेसम्म के के गरेको छ, त्यसको जानकारी संसद्मा गराउन माग गरे । सांसद रञ्जुकुमारी झाले २०७८ साल असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरीमा शिलान्यास गरेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पताल अलपत्र रहेकाले छिटो निर्माणको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

सांसद रमा कोइराला पौडेलले केही वर्षदेखि भक्तपुरका विभिन्न स्थानमा स्मार्ट सिटीका नाममा जग्गा रोक्का राखी स्थानीयलाई दुःख दिने काम भएकाले स्मार्ट सिटी नबनाउने भए जग्गा फुकुवा गर्नुपर्नेमा जोड दिईन् । सांसद रामनाथ अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्य कति भएपछि सरकारले नियन्त्रण गर्ने हो ? भनी प्रश्न गरीन् ।

सांसद रुक्मिनी रानाले धुलिखेल–खावा सडक लामो समयदेखि अलपत्र बनेकाले छिटो काम गराउन सरकारसँग माग गर्नुभयो । सांसद रेखा यादवले नागरिकताविहीनको समस्या छिटो समाधान हुनुपर्नेमा जोड दिइन् । सांसद लक्ष्मी तिवारीले माइतीघर मण्डलामा विभिन्न माग राखी अनशनमा बसेकाको समस्या सरकारले किन समाधान गर्दैन भनी प्रश्न गरिन् ।

सांसद लेखनाथ दाहालले कात्तिकसम्म ठेक्का गरिसक्ने चालु आर्थिक वर्षको बजेटको प्रतिबद्धता कार्यान्वयनमा लैजान माग गरिन् । सांसद भगवती चौधरी सांसद बलमकुमारी मगर, रणेन्द्र बराइलीले, रामकुमार राई, महेशकुमार वर्तौला, रोशन कार्की, रुपा विश्वकर्मा, प्रसाद साँवा लिम्बू, लालवीर चौधरीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै