• २०८१ बैशाख १७ सोमबार

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

kharibot

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नबारे सम्झौता भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगङ्गा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने सम्झौता भएको हो ।

मन्त्री बस्नेतले उक्त सम्झौताले कर्णाली प्रदेशकै जनताको आँखा उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे ।

उनले आँखा उपचारका लागि रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता गरे ।

उनले भने, “दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ। मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।”

तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा सन्दुक रुइतले कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गतलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिष्ठानअन्र्तगत नेत्र रोग उपचार विभागलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने बताए ।

“आँखा उपचारका लागि अत्यावश्यक सबै प्रकारका आधुनिक स्वास्थ्य उपकरण र संरचना निर्माणमा सहयोग उपलब्ध गराउनेछौँ”, डा रुइतले भने, “कर्णाली प्रदेशको कुना कुनामा गएर सेवा उपलब्ध गराउने र त्यसमा पनि मोतिविन्दु, जलविन्दु तथा मधुमेहजन्य आँखाको समस्याको उपचारलाई सहज र सुलभरूपमा सबैको पहुँचमा पुर्याउन हामीबीच सहकार्य हुनेछ ।”

कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताए ।

उनले सम्झौताअनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“आँखासम्बन्धी उपचारका लागि अत्यावश्यक आधुनिक उपकरण खरिदका लागि पर्याप्त बजेट नहुनु र अन्य सङ्घसंस्थासँग सहकार्य गर्ने अवसर मिलेको थिएन”, उनले भने, “तिलगङ्गासँगको सम्झौताले आँखा उपचारसँगै अध्ययन र अध्यापनका लागि अवसर सिर्जना गर्दै लग्ने अपेक्षा छ ।”

उपकुलपति डा रावलका अनुसार प्रतिष्ठानमा तीन वर्षदेखि आँखासम्बन्धी रोगको उपचार सेवा सञ्चालन भइरहेको छ ।

यद्यपि बजेट र विशेषज्ञ चिकित्सकको अभावमा सेवालाई विस्तार गर्न नसकेको उनको भनाइ छ ।

“विगत तीन वर्षदेखि बहिरङ्ग सेवा उपलब्ध भइरहेको छ । एक जना नेत्र रोग विशेषज्ञ थिए, अहिले विशेषज्ञ उपलब्ध गराउन मन्त्रालयसँग आग्रह गरेका छौँ”,उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै