• २०८१ असोज ५ शनिबार

उत्तरपानी प्राविधिक शिक्षालय जीर्ण

kharibot

धनकुटा । मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । 

विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली विज्ञान र पशु विज्ञानतर्फ तीन वर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एकमात्र कृषि प्राविधिक पढाइ हुने विद्यालयका नामले चिनिने यो विद्यालय कुनै बेला पर्यटकीय क्षेत्रका रुपमा समेत चिनिन्थ्यो । तर अहिले यहाँ निर्मित ४७ भवन जीर्ण अवस्थामा छन् । यस वरिपरिका रमणीय चिया बगान, माछा पोखरीलगायत स्थल अव्यवस्थित छन् ।

बनेका भवन, प्रयोगशाला तथा विभिन्न पूर्वाधार जीर्ण बन्दै जाँदा अध्ययन, अध्यापनमा समस्या हुँदै आएको विद्यालयका प्राचार्य शङ्कर कोइरालाले जानकारी दिए । मर्मतसम्हारका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा समस्या भएको उnको भनाइ छ । “भवनका विषयमा विद्यार्थीको गुनासो आइरहन्छ”, कोइरालाले भने  “लाइभस्टक र प्रयोगशाला जीर्ण हुँदा प्रयोगात्मक परीक्षा नै रोकिने गरेको छ ।”

हाल विद्यालयको अन्य शीर्षकमा आएको रकमबाट मिलाएर टालटुल गरी शिक्षालय सञ्चालन गरिरहेको उनले जानकारी दिए  । शिक्षालयको भवन तथा संरचना मर्मत गर्न करिब रु चार करोड जति खर्च लाग्ने प्रचार्य कोइराला बताउछन् ।

वार्षिक एक सय ६० जना भर्ना लिने यस शिक्षालयमा हाल तीन सय २० विद्यार्थी अध्ययनरत छन् । सिटिइभिटीबाट सम्बन्धन प्राप्त देशभरिका ६५ आंगिक शिक्षालयमा कोशी प्रदेशअन्तर्गत सात वटा रहेका छन् । यसमा यो धनकुटाको एकमात्र पुरानो शिक्षालय हो । पछिल्लो समयमा स्थानीय तहहरुमा नै प्राविधिक शिक्षा सञ्चालनमा आउन थालेपछि यहाँ अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्यामा कमी आएकाले यसलाई बचाउनसमेत चुनौती थपिएको प्राचार्य कोइरालाको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय