काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले, आफ्नो पार्टी आदिवासी जनजातिको माग सम्बोधनका लागि सकरात्मक रहेको बताएका छन् ।
विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारसँग आदिवासी, जनजातिहरुको माग सम्बोधन गराउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने वचन दिएका हुन् ।
नेपाली काँग्रेसलाई सबै जाति, जनजातिको पार्टी हुनेगरी समानुपातिक प्रतिनिधित्व गराउने भन्दै उनले आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिलाई हेरेपछि नेपालमा के छैन? भन्ने अनुभूति आफूलाई हुने गरेको बताए ।
‘यो सबैको देश हो, नेपाली कांग्रेस सबैको पार्टी हो। पार्टी हो भन्ने हामीले स्थापित गर्नुछ। यसमा सुधार गर्नुछ।’ उनले भने ।