• २०८१ बैशाख १७ सोमबार

काठमाडौंका सामुदायिक विद्यालयका विद्यार्थी भन्छन्- बुक फ्रि फ्राइडे कार्यक्रम नहटाइ दिनु

kharibot

काठमाडौँ । ‘हामीलाई बुक फ्रि फ्राइडे कार्यक्रम निरन्तर चाहिन्छ । किताब पढेको दिनभन्दा शुक्रबार धेरै कुरा सिक्न पाइएको छ । सर यसलाई नहटाइदिनु ल ।’ बाँसबारी माध्यमिक विद्यालयका विद्यार्थीहरुले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसँग एक स्वरमा आग्रह गरे । 

विद्यालय निरीक्षणका क्रममा अधिकारीले, कक्षा कोठामा पुगेर ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन नगरे तपाईँहरुलाई फरक पर्छ? भनेर प्रश्न सोधेपछिको उत्तरमा विद्यार्थीहरुले यस्तो उत्तर दिएका हुन् ।

विद्यालयका कक्षा कोठाहरुमा शिक्षकहरु अतिरिक्त क्रियाकलाप गराउन व्यस्त हुनुहुन्थ्यो । कक्षा ८ का विद्यार्थीहरु प्रस्तुतिकरण सिपको प्रयोग गरिरहेका थिए । कक्षा १० का विद्यार्थीहरु आफूले विभिन्न विषयमा लेखेका विश्लेषणात्मक चार्टको प्रदर्शन र अरुको चार्टको अवलोकन गरिरहेका थिए । अन्य कक्षाहरुमा हाजिरी जवाफ, श्रुतिलेखन, शव्दको अर्थ बुझ्ने विधि अभ्यास भइरहेको थियो ।

कक्षा कोठा र क्रियाकलापको निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारी र शिक्षा अधिकारी सीताराम कोइरालाले, विषयसँग सम्बन्धित अन्तरक्रिया गरेका थिए । 

घर, परिवार र समाजमा देखेका कुरा सोध्ने अवसर यस अघिका कक्षामा थिएन । अब ती जिज्ञासाहरु शुक्रबारका कक्षामा सोध्नु । विद्यार्थीसँगको अन्तरक्रियाका क्रममा अधिकारीले भने, ‘अरु दिन कक्षामा नबुझेका कुरा पनि यस दिन सोध्न सकिन्छ । यसको व्यवहारिक अभ्यास पनि गर्नुपर्छ ।’

निरीक्षणपछिको प्रतिक्रियामा अधिकृत अधिकारीले, विद्यालयको भौतिक पूर्वाधार विकास र विद्यालयलाई सुन्दर बनाउने कार्यक्रमका लागि महानगरले सहयोग उपलब्ध गराउने बताउँदै विद्यालयले नतिजा दिनुपर्ने धारणा राखे । 

‘कक्षा कोठामा राखिएका पर्दा मिलाउने, सरसफाइ गर्ने जस्ता सानातिना काम गर्दा पनि व्यवस्थापनमा राम्रो प्रभाव देखिन्छ । यस्ता पक्षमा विद्यालय आफैँले ध्यान दिनुपर्छ,’ उनको सुझाव थियो ।

विद्यालयहरुमा सिपमा शिक्षा कार्यक्रम सञ्चालन तयारीमा छन् । विगत कार्यक्रमको निरन्तरताका सम्बन्धमा शिक्षा अधिकारी कोइरालाले, जनशक्तिको उच्चतम परिचालन र क्षमता विकास गर्ने काममा विद्यालयले योजना बनाउनुपर्ने बताए । 

विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले, शौचालय एक ठाउँमा मात्र भएको, त्यो पनि साँघुरो भएको, विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग आवश्यक रहेको बताए ।

विद्यालय २०१८ सालमा स्थापना भएको हो । २०५५ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको विद्यालयमा अहिले ७०६ जना विद्यार्थी अध्ययनरत छन् ।

बुक फ्रि फ्राइडे कार्यक्रम सुरु भएपछि कक्षाकोठाहरुमा सजावट गरिएको छ । फर्निचरहरुमा सुधार गरिएको छ । यस्ता विषयमा विद्यार्थी र शिक्षकको सक्रियता बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै