• २०८१ बैशाख २० बिहीबार

मुक्तकमैयालाई अधिकार सम्पन्न गराउन सांसदको माग

kharibot

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद हरिराम चौधरीले ३० हजार बढी परिवारलाई कमैयालाई मुक्त घोषणा गरेको भए पनि उनीहरुले वास्तविक रुपमा मुक्ति पाउन नसकेको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारले मुक्त घोषणा गरेको भए पनि जमिन्दारको घरमा नै बस्नुपरेको, मानवीय जीवन जीउन नपाएको गुनासो गरे । 

मुक्तकमैया परिवारले रोजगारी पाउन नसकेको, शिक्षा, स्वास्थ्यमा विभेद रहेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भैरवसुन्दर श्रेष्ठले स्वयम्सेवी संस्थाको रुपमा परिचित नेपाल रेड्क्रसमा देखिएको विवादका कारण मुलुकको मान प्रतिष्ठामा आँच पुगेको आरोप लगाए । उनले रेडक्रसका सन्दर्भमा सरकारले गरेको निर्णयकाविरुद्ध पटक–पटक सर्वोच्च अदालतले दिएको आदेश लत्याएर वैधानिक समितिलाई बाहेक गरिएको जिकिर गरे । 

उनले दलिय भागवण्डामा रेड्क्रस जस्तो संस्थालाई चलाउन खोजिएको आरोप लगाए । सांसद रमेशजङ्ग रायमाझीले देशव्यापी रुपमा सहकारीका कारण जनताको दैनिक जीवन प्रभावित भएको, घरबाँस उठ्ने अवस्थामा पुगेकाले समस्या समाधानका तदारुकता देखाउन सरकारको ध्यानकर्षण गराए । 

नेपाली जनताले आफ्नो रगत र पसिना सहकारीमा जम्मा गरेको भए पनि त्यसका व्यवस्थापक र सञ्चालक विदेश भागेको तथ्य पेस गर्दै उनले त्यस्ता सञ्चालकलाई रेडकर्नर नोटिस जारी गरेर भए पनि पक्राउ गरेर ल्याउन माग गरे । 

सहकारीका व्यवस्थापकले अपचलन गरेको सम्पत्तिको खोजबिन गर्न, वित्तीय अनुशासन विपरीत गरिएको लगानीको सत्यतथ्य पड्ताल गर्न सांसद रायमाझीले माग गरे । केही ठूला सहकारीले अर्बौ रकम हिनामिना गरेको तथ्य सार्वजनिक भइरहँदा पनि सरकारले कारबाहीको कुनै प्रक्रिया अगाडि नबढाएका उनले आपत्ति प्रकट गरे ।  

सहकारीका उच्च पदाधिकारीको सम्पत्ति जपथ गरी पीडितलाई राहत प्रदान गर्नुपर्ने उनको भनाइ छ । सांसद रायमाझीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मीको लापरबाहीका कारण एक सय किलो सुन बरामद भएको उल्लेख गर्दै त्यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरे । 

विमानस्थलमा रहेका कर्मचारीलाई समेत निलम्बन गरेर छानबिन गर्नुपर्ने उनको  भनाइ छ । सांसद राजेन्द्रलक्ष्मी गैरेले समाजमा अनेकन खालमा विकृति फैलिएको, जनजीवन त्यसबाट प्रभावित भएको, सामाजिक सञ्जालमासमेत चरित्र हत्या गर्ने, गलत प्रचार गर्ने प्रवृत्ति मौलाएकाले त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद मोहम्मद खालिदले सबै प्रत्रmिया पूरा गरेर वैदेशिक रोजगारीका लागि विमानस्थलमा पुगेका गरिब नेपाली जनताका छोराछोरीलाई दुःख दिइएकामा आपत्ति प्रकट गरे । 

सांसद तुलप्रसाद विश्वकर्माले गणतान्त्रिक सरकारको मातहतमा रहेको नेपाली सेनाको सङ्ख्या घटाउने विषयमा भइरहेका बहसप्रति आपत्ति प्रकट गरे । उनले  देशव्यापी रुपमा दलित समुदायमाथि उत्पिडन भइरहेकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै