• २०८१ बैशाख ७ शुक्रबार

फिदिममा सार्वजनिक शौचालय नहुँदा कष्ट भोग्दै यात्रु

kharibot

पाँचथर । सिङ्गो बजारमा एउटा पनि सार्वजनिक शौचालय छैन भन्दा धेरैलाई विश्वास नलाग्ला ।

तर नयाँ सहरका रूपमा विकास भइरहेको पाँचथरको सदरमुकाममा अहिलेसम्म एउटा पनि सार्वजनिक शौचालय बन्न सकेको छैन ।

नेपाल सरकारले भौतिक सुविधाको विस्तार गरी बसाइँसराइ रोक्ने उद्देश्य राखी विकास गरिरहेको फिदिममा अहिले पर्यटक, बटुवा र सवारीका यात्रु शौचालय खोजेर भौँतारिने गर्छन् । 

सार्वजनिक शौचालय नभेटेपछि पसल र होटलमा पुगेर शौचालय प्रयोग गर्न दिन उनीहरूले याचना गर्नुपर्छ । शौच गर्नकै लागि पर्यटक, बटुवा र सवारीहरू होटलमा चिया, नास्ता, चुरोट खाने बहाना बनाएर जानुपर्ने बाध्यता छ । यात्रु बुद्धिमान स्याङतान पनि त्यसरी दुःख पाउने मध्येका एक छन् ।

जिल्लाको फाल्गुनन्द–६ का स्याङतान फिदिम बजारमा यत्तिका लामो समयसम्म किन सार्वजनिक शौचालय नबनेको होला भनेर अचम्ममा छन् ।

“नयाँ मान्छेलाई त यहाँ गाह्रै हुन्छ । ग्राहक बनेर होटलमा जानुको विकल्प हुँदैन । नौलो मान्छेलाई समस्या छ नि !”, स्याङनातले भने, “ट्वाइलेट त अति आवश्यक देखिन्छ ।तर नगरपालिका भए पनि अहिलेसम्म किन नबनाएको होला ? मैले बुझ्न सकेको छैन ।” फिदिमको गणतन्त्र चौकमा भेटिएकी याङवरक–६ की इन्द्रकुमारी सुहाङको गुनासो पनि उस्तै छ ।

“यत्रो ठूलो बजारमा सार्वजनिक शौचालय त हुनु पर्ने हो । बाहिरबाट आउने र चिनजानका मानिस नहुने यात्रुले समस्या भोग्नु परेको छ”, सुहाङले गुनासो गर्दै भनिन् । 

अटोरिक्सा चालक कुमार तामाङ शौचालय सोध्ने यात्रुलाई विकल्प दिन नसकिएको बताउछन् । “बाहिरबाट आउने यात्रुहरू शौचालय कहाँ छ भन्छन् । हामीले कहाँ देखाइदिने ?”, तामाङले भने, “होटलतिर गएर चिया, चुरोट मागेर ट्वाइलेट खोजेर शौच गर्नुपर्ने अवस्था छ ।” शौचालय निर्माण गर्ने विषयलाई फिदिम नगरपालिकाले गम्भीरतापूर्वक नलिएको तामाङको गुनासो छ ।

आहालगैरीमा होटल चलाइरहेकी माया तामाङ सवारी रोकिने क्षेत्रमा सार्वजनिक शौ । “सार्वजनिक शौचालय भइदिए यात्रुहरूले दुःख पाउने थिएनन् ।

अर्काको गाली खानुपर्ने थिएन”, तामाङले भने, “मेरो होटलमा आएर चिया, नास्ता मागेर शौचालय खोज्छन् । नदिनु पनि भएन । दिँदा सफा गरिरहन गाह्रो पर्छ ।”

निजी प्रयोगका शौचालयहरू प्रयोग गर्दा धेरै यात्रुहरूले गाली खाएको आफूले सुन्नु परेको तामाङको अनुभव छ । “त्यसैले म चाहिँ कसैलाई गाली गर्दिनँ”, उनले भने । 

हिमाल यातायातको फिदिम काउन्टरका प्रमुख निशान साँवा बजार क्षेत्रमा पार्किङ गर्ने सहज व्यवस्था तथा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई समस्या हुने गरेको बताउछन् ।

“बसपार्क टाढा हुँदा गाडी त्यहाँबाट सञ्चालन हुन सकेका छैनन् । यात्रुहरू बजारमै उत्रन चाहन्छन् । उनीहरूको काम पनि यतै हुन्छ । यहाँ न पार्किङ सहज छ, न त शौचालयको व्यवस्था नै”, साँवाले भने, “पार्किङ सहज बनाई सोही स्थानहरूमा सार्वजनिक शौचालय बनाउनु जरुरी छ ।”

फिदिम आइपुग्ने नयाँ मानिस, जेष्ठ नागरिक तथा बालबालिकाले शौच गर्नै नपाउने अवस्था भएपछि आफूहरूले समस्या भोगेर पनि यात्रुलाई सुविधा दिने गरेको व्यवसायी बताउँछन् ।

आफ्नो होटलको शौचालयलाई सार्वजनिकरूपमा प्रयोग गर्दा मासिक रु २० हजारभन्दा बढी खर्च हुने गरेको व्यवसायी पूर्ण सम्बाहाम्फेको भनाइ छ ।

सम्बाहाम्फेको होटल भएको लिम्बुवान गेटबाहिरका यात्रु उत्रिएर बजारभित्रका काम गर्ने मुख्य ठाउँ हो । “मेरो होटलमा सबैतिरबाट आएका यात्रु ठोकिन्छन् ।

बालबालिका, बुढापाका अभर परेर आउँछन् । मैले दिन्न भन्नु भएनँ”, सम्बाहाम्फेले भने, “मेरो शौचालयको सेफ्टी ट्याङ्की सानो छ । मैले प्रत्येक महिनामा सेफ्टी ट्याङ्की सफा गराउनुपर्छ । यसो गर्दा मासिक रु २० हजार खर्च भइरहेको छ, कसैले नगरपालिकामा बिल हेरे हुन्छ ।”

आफूले समस्या बेहोरेर पनि यात्रुलाई ‘धर्म’ गर्दै आएको सम्बाहाम्फेको प्रष्टिकरण छ । “मान्छे अभर पर्छन् । व्यवसाय गर्ने भएका नाताले पनि हामीले अभर परेका मानिसलाई शौचालय प्रयोग गर्न दिनुपर्छ नै । यति त हाम्रो धर्म हो” सम्बाहाम्फेले भने, “मैले केही कमाउन नसकौँला तर बूढापाकालाई दुःख नहोस् भन्ने सोचेर आफैँले समस्या भोग्दै आएको छु ।

मानिस पसलतिर शौचालय खोज्दै जाँदैनन् । आउने होटलमै हो ।” आफूहरूले फिदिम नगरपालिकामा कुरा उठाए पनि सार्वजनिक शौचालय बनाउने जग्गा नहुँदा शौचालय निर्माण हुन नसकेको उनको भनाइ छ । फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार बर्सेनि फिदिम बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने बजेटको व्यवस्था गरिए पनि जग्गा नहुँदा शौचालय निर्माण हुन नसकेको हो ।

हुन त फिदिम नगरपालिकाले विगतका वर्षबाटै फिदिमको आहालगैरी, गणतन्त्र चौकसहितका मुख्य बजारमा सार्वजनिक शौचालय निर्माण गर्न जग्गाको खोजी गरेको थियो ।

संरचना निर्माण गर्न जग्गा खरिद गर्न नमिल्ने भएकाले नगरपालिकाले जग्गाको प्रबन्ध गर्न सकेको छैन ।

शौचालय निर्माणकै लागि मुख्य चौकहरूमा लाखौँ मूल्य पर्ने जग्गा उपलब्ध गराउन स्थानीयवासी पनि तयार छैनन् । उसो त निर्माण भएकै सार्वजनिक शौचालय पनि प्रयोगविहीन छ ।

फिदिम–१ शनिबारेमा प्रत्येक शनिबार लाग्ने हटियालाई लक्षित गरी फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १० वर्षअघि निर्माण गरेको सार्वजनिक शौचालय संरक्षण र सरसफाइ नहुँदा अहिले प्रयोगविहीन बनेको छ । सो क्षेत्रमा यात्रु तथा बटुवाले प्रयोग गर्न सक्ने भए पनि सरसफाइको अभावमा उक्त शौचालय प्रयोगविहीन बनेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै