• २०८१ बैशाख १७ सोमबार

आठ जना पर्वतारोही धौलागिरिको चुचुरोमा

kharibot

म्याग्दी । म्याग्दीमा रहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन् । धौलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने आठ हजार एक सय ६७ मिटर अग्लो सो हिमाल आज उनीहरुले आरोहण गरेका हुन् ।

यो हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन् । पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए । सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले आज बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् । 

पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ । धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७: ०० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए । 

आरोहणबाट फर्केपछि वार्टेकले चार हजार सात सय मिटर उचाइको वेस क्याम्पमा स्कीसमेत खेलेका थिए । धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षीय ज्येष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ । बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएपछि उनको धौलागिरिको चुचुरोमा पाइला राख्ने १४औँ प्रयास असफल बनेको हो ।

दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको छ । कार्लोसको फेसबुक पेज अनुसार बधुबार राति धौलागिरि चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धार गरी क्याम्प तीनमा झारेको तथा होलिकप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै