• २०८१ बैशाख १६ आइतबार

चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र

kharibot

खलङ्गा । चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । 

तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन । खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन सकेको छैन । घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गामै थन्किएको छ ।

उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलङ्गा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । “मौसम  अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकन”, उनले भने, “मौसममा सुधार आए मङ्गलबार बिहानै घाइतेको उद्धारमा लाग्छौँ ।” 

घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको  हुमदुम्तीमा तीन यार्सागुम्बा सङ्कलक घाइते भएका थिए । चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए । 

उनीहरु गाउँलेसँगै यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेग उक्लेका थिए । दार्चुलको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै