रायमाझी अझै सम्पर्कविहिन, आरजु र खाँण दम्पति पनि तानिए !
खरीबोट
२०८० बैशाख २५ सोमबार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि तानिएका छन् ।
यस प्रकरणमा पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा उनीहरु समेत तानिएको स्रोतले बताएको छ । अहिले सामाजिक सञ्जालमा पैसा उठाउने गिरोह र पीडितबीच भएको कुराकानीमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको अडियो सार्वजनिक भएको छ ।
प्रहरीले सो अडियोमाथि अनुसन्धान जारी राखेको जनाएको छ ।
यसअघि पक्राउ परेका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईलगायतले सबै हाइप्रोफाइल नेताहरुको नाम लिए पनि बयान बदल्ने प्रयास भएको समेत आरोप लागेको छ तर अनुसन्धानमा जुटेका प्रहरी अधिकृतहरुले भने प्राप्त प्रमाणलाई नै आधार बनाएर अनुसन्धान जारी रहेको बताएका छन् ।
त्यस्तै यस प्रकरणमा पक्राउ पुर्जी जारी भएका एमालेका सचिव टोपबहादुर रायमाझी अहिलेसम्म सम्पर्कविहिन बनेपछि उनलाई खोज्न विशेष प्रहरी परिचालन गरिएको छ ।
रायमाझीको पछिल्लो लोकेशन रुपन्देही पाइएकोले उनलाई बुटवल र काठमाडौंमा विशेष प्रहरी परिचालन गरेर खोज्न शुरु गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा यस प्रकरणको प्रमुख नाइकेको रुपमा रायमाझी भएको पाएको छ ।
नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।
सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ ।
त्यस्तै यस प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन् । उनीहरु सबैलाई प्रहरीले आइतबार थप ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।