काठमाडौँ । सरकारले सुडानमा सम्पर्कमा आएका नेपाली नागरिकको उद्धार शुरु गरेको छ ।
परराष्ट्र मन्त्रालयले कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना मध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहर पुर्याइएको जानकारी दिएको छ ।
जेद्दा पुगेका १९ जना मध्ये ६ जना रोजगारदाता कम्पनीको प्रबन्धमा दुवईस्थित सोही कम्पनीको शाखामा रहने भएको मन्त्रालयले जनाएको छ भने १३ जना मध्ये ८ जना आज र ५ जना भोली काठमाडौँ आइपुग्ने भएका छन् ।
नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जना मध्ये ६ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारीरहेको र बाँकी ३ जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षित रुपमा पोर्ट सुडानको होटलमा र अन्य २ जना रोजगारदाता कम्पनीले इजिप्टको सीमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले जानकारी दिएको छ ।