• २०८१ बैशाख १४ शुक्रबार

छिटपुट घटनाबाहेक उपनिर्वाचनको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न

kharibot

काठमाडौं । आज भएको उपनिर्वाचनको मतदान सम्पन्न भएको छ ।  बारा–२ र चितवन–२ का  केही स्थानमा बाहेक निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो ।

बारा जिल्लामा जसपा नेता रामसागर यादव नक्कली मतपत्र सहित पक्राउ परेका छन् भने चितवनको नयाँ किरण माबि भोजाडस्थित मतदानस्थलमा असहज अवस्था आएको तथा चितवनको दुईवटा मतदान केन्द्रमा केही समयका लागि मतदान स्थगित भएको बाहेक अन्यत्र भने सामान्य रुपमा नै मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । 

बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म भएको थियो भने कैयौं मतदान केन्द्रमा पाँच बजेसम्म केन्द्रमा पुगेका मतदाताले मतदान गर्न पाउने गरि व्यवस्था मिलाइएको थियो ।

आयोगले आजै रातिबाट मतगणना गर्ने गरी तयारी गरेको छ । त्यसअघि सम्पूर्ण मतपेटिका मतगणना स्थलमा ल्याउने र गणनाको तयारी गर्ने आयोगले जनाएको छ ।

यसैबीच चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ ।

मंसिरमा पहिला ६७.६३ प्रतिशत मत खसेकोमा अहिले  ६० प्रतिशत भन्दा कम मत खसेको प्रारम्भिक अनुमान रहेको छ । चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् ।

त्यस्तै तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ । 

चितवन–२ वाट बिजयी रबी लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए पछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले पुनः उम्मेदवारी दिएका छन भने नेकपा एमालेवाट रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसवाट जीतनारायण श्रेष्ठका विचमा त्रिपक्षीय भिडन्त हुने मानिएको छ । 

यसैगरी, बारा–२ वाट बिजयी रामसहाय यादव उपराष्ट्रपतिमा तथा तनहु–१ वाट बिजयी रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए पछि सो रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । 

बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल र जनमत पार्टीका शिवचन्द्र कुशवाहा मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन भने तनहुँ–१ मा नेकपा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका गोबिन्द भट्टराई र स्वन्तत्र पार्टीका स्वर्णिम वाग्लेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै