• २०८१ बैशाख १७ सोमबार

जयराम-हलेसी सडकमा खाल्डाखुल्डी धेरै हुँदा समस्या

kharibot

खोटाङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी (३० किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो ।

साना-ठूलागरी दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम-हलेसी सडकखण्ड विसं २०६७ मा ओटासिल कालोपत्र गरिएको हो ।

जिल्लाको प्रमुख मार्ग जयराम-हलेसी सडकको कालोपत्र तीन वर्ष नपुग्दै ठाउँठाउँमा उप्किएर खाल्डाखुल्डी बनेपछि अहिले सवारीसाधन गुड्नै मुस्किल पर्ने अवस्था सिर्जना भएको छ । 

ठेकेदारले सिमेन्ट, बालुवा, गिटी र अलकत्राको मात्रा नमिलाइ ओटासिल कालोपत्र गरेकाले समस्या सिर्जना भएको स्थानीय बासिन्दाको आरोप छ ।

कम्तीमा दशवर्ष टिक्नुपर्ने ओटासिल कालोपत्र तीन वर्ष नपुग्दै उप्किएको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारका स्थानीय एवं नेकपा (माओवादी केन्द्र) खोटाङका सचिव जीवन राई ‘सङ्गीन’ले बताए ।

“कालोपत्र उप्किएपछि जीर्ण बनेको सडकमा दैनिक हजारौँ यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेका छन्”, उनले भने , “सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने, ठूलो दुर्घटना हुनसक्छ ।समयमै सचेत हुन जरुरी छ । सबैभन्दा पहिले स्थानीय जनप्रतिनिधिले चासो दिनुपर्यो ।” ठेकेदारले फाइदाका लागि कम गुणस्तरको कालोपत्र गर्न लागेको भन्दै उसबेला सडक आसपासका स्थानीय बासिन्दाले सङ्घर्ष समितिसमेत गठन गरेर आन्दोलनसमेत गरेका थिए ।

स्थानीय बासिन्दाको आन्दोलनका बीच स्वच्छन्द-भगवती निर्माण सेवाले दुई वर्ष लगाएर जयराम-हलेसी सडक ओटासिल कालोपत्र गरेको हो ।

विशेषगरी ग्रामीण क्षेत्रका सडकमा धुलो नियन्त्रणका लागि लगाइने पिच (ओटासिल कालोपत्र) उप्किएपछि गाडीभित्रै धुलो छिर्ने गरेको यात्रुहरुको गुनासो छ ।

“गाडीभित्र धुलो छिरेर सास फेर्नसमेत असहज हुन्छ । खाल्डाखुल्डीमा गाडी पस्दा टाउको ठोक्किँएर टुटुल्को उठ्छ”, एक यात्रीले भने, “लामो समयदेखि हामी यात्रुहरुले सास्ती भोग्दै आएका छौँ । यसको विषयमा स्थानीय जनप्रतिनिधिले कुनै चासो दिएका छैनन् । यसले ठूलो दुर्घटना निम्त्याउने देखिन्छ ।” जयराम–हलेसी सडक ओटासिल कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आवतजात गर्ने पर्यटक तथा दर्शनार्थी सबैभन्दा बढी मारमा परेका छन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतका स्थानीयसमेत व्यक्तिगत तथा रिजर्भ गाडी लिएर आउने गरेका छन् । 

जयरामदेखि हलेसीसम्मको सडकमा हजारौँ खाल्डाखुल्डी हुँदा त्यसमा परेर दर्जनौँ सवारी साधन बिग्रिसकेको खोटाङ यातायात प्रालि खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

“जयराम–हलेसी सडक वानवे (एकतर्फीमात्र गाडी चल्ने) अवस्थाको छ”, उनले भने, “वानवे सडकमा रहेको खाल्डाखुल्डी जोगाएर गुडाउँदागुडाउँदै विपरीत दिशाबाट अर्को गाडी आउँछ । त्यसलाई साइट दिँदा खाल्डोमा पस्छ । खाल्डोमा पसेको गाडी निकाल्दा क्षति हुने गरेको छ ।” ओटासिल कालोपत्र उप्किएर दुर्घटनाग्रस्त बनेको जयराम–हलेसी सडकको खाल्डाखुल्डी पुर्ने जिम्मा डिएस कन्ट्रक्सन प्रालि हेटौँडाले लिएको छ ।

विसं २०८० असार–२२ गतेभित्र सक्नेगरी विसं २०७७ जेठ–२८ गते रु ११ करोड ७८ लाख १३ हजार ७७९ मा ठेक्का लिएको उक्त सडकको काम अहिले ठप्प छ । 

जयराम–हलेसी सडक मर्मतको काम सुस्त देखिएपछि दुई महिनाअघि ठेकेदार कम्पनीलाई कार्यालयमा झिकाएर तत्काल बाँकी काम पूरा गर्न निर्देशन दिइए पनि अटेर गरेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले बताए ।

“आज अनुगमन गर्दा निर्माणस्थलमा चार जनामात्रै कामदार देखियो”, उनले भने, “तत्कालै सडक विभागका डिभिजनल इन्जिनियरलाई फोन गरेर तपाईंहरु काम लगाउन सक्नुहुन्न भने लेखेर दिनुस् । म प्रहरी पठाएर कारबाहीको दायरामा ल्याउँछु भनेको छु । उनले आफै अनुगमनमा आएर काम लगाउने बताएका छन् ।” ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक ध्रुव कार्कीले जयराम–हलेसी सडक मर्मतको काम ७० प्रतिशत सम्पन्न भइसकेकाले तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन् । “यसअघि गरिएका कामको भुक्तानी रोकिएकाले काम बन्द गरिएको थियो”, उनले भने, “रोकिएको भुक्तानी पाइसकेका छौँ । अब तत्काल कामदार खटाएर बाँकी काम पूरा गछौँ ।”

खोटाङका जनताको समृद्धिसँग जोडिएको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम-हलेसी सडकखण्ड मर्मतको काम तत्काल पूरा गर्न पटक-पटक निर्देशन दिइएको खोटाङ क्षेत्र नं १ प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले बताएका छन् । छिमेकी जिल्ला भोजपुरका स्थानीयलेसमेत उपयोग गर्ने मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डको (दश किलोटिर) सेखुवा–चखेवाभञ्ज्याङ अहिले कालोपत्रको काम भइरहेको छ। भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिशाही जेभीले ठेक्का लिएको उक्त सडक आगामी असार मसान्तभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीका प्रतिनिधि विमल अधिकारीले प्रतिबद्धता जनाएका छन् । ठेकेदार कम्पनीले विसं २०७५ फागुन ३० भित्र सम्पन्न गर्नेगरी विसं २०७२ चैत २ गते रू ३२ करोडमा सडक विभागसमक्ष ठेक्का सम्झौता गरेको थियो ।

तोकिएको समयमा काम सम्पन्न नभएपछि चौँथो पटक थपिएको समयावधिसमेत गत जेठ मसान्तमा सकिएको उक्त सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै