• २०८१ बैशाख ८ शनिबार

रवि लामिछाने मिडियाप्रति आक्रोशित, प्रचण्ड र ओलीप्रति नरम

kharibot

काठमाडौँ । साता लामो रस्साकस्सीबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छोड्ने निर्णय गरेको छ । तर सरकारलाई दिएको समर्थन भने कायम रहने जनाएको छ ।

आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरेर सरकार छोडेको जानकारी मात्र दिएनन्, आफु माथि मिडियाले गरेको व्यबहारको समेत खुलेर कुरा गरे ।

लामिछानेले पत्रकार सम्मेलनमा समझदारी अनुसार गृहमन्त्रालय नपाएकोले सरकार छोडेको बताए भने आफुले अमेरिकी नागरिकता हुदा हुदै नेपाली राहदानी बनाएको समेत स्वीकार गरेका छन् । उनले आफुले राहदानी लिएपनि त्यसको कतै प्रयोग र दुरुपयोग नगरेको बताएका छन् ।

लामिछानेको पत्रकार सम्मेलनका केहि प्रमुख विषय:

मिडियाविरुद्ध आक्रामक

लामिछानेले विभिन्न मिडियाको नाम नै लिएर चुनौती दिदै आफूविरुद्ध लागेको ठोकुवा गरे । उनले मिडियाहरुले असत्य समाचार लेखेर अदालतलाई समेत प्रभावमा पारेको दाबि गरे ।

सभापति लामिछानेले आफु डराएर राजनीति गर्न नआएको बताउदै मिडिया र सामाजिक सञ्जालमा चर्चित रहेका केहि व्यक्तिहरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । 

केहि समित सम्पादकहरुले एजेण्डा सेट गरेर राजनीतिक दल र अदालतलाई प्रभावमा पार्ने गरेको दाबि गर्दै लामिछानेले आफु त्यसबाट नडराउने बताए । उनले आफूविरुद्ध बिना प्रमाणका समाचार प्रकाशित गरेमा आफ्नै किसिमले कारवाही गर्ने चेतावनी समेत दिए ।

लामिछानेले मिडियाका मालिक र सम्पादकहरुलाई आफूसँग चुनाव लड्न चितवन-२ मा आउन चुनौती दिएका थिए ।

लामिछानेले ठुला मिडियासँग सरकार र नेताहरु डराएको भन्दै आफु मिडियासँग नडराउने बताए ।

लामिछानेले आफूले विश्व रेकर्ड राख्दा पनि नेपाली मिडियाले उचित स्थान नदिएको गुनासो गर्दै पत्रिकाको कुनामा सो बारेको समाचार देख्दा दुख लागेको बताए ।

एक महिना १० दिनमै सरकारबाट बाहिर

रास्वपाले एक महिनाको सत्ता स्वादपछि बाहिरिने निर्णय गरेको छ । रास्वपाबाट सरकारमा सभापति लामिछाने नागरिकता प्रकरणमा बाहिर भएपछि श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की सरकारमा रहेका थिए ।

गृहमा लगातार दाबि गरिरहेको रास्वपालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिन अस्वीकार गरेपछि सरकारनै छोडेको छ । यद्यपि सरकारलाई दिएको समर्थन कायम रहने बताउदै सभापति लामिछानेले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।

यता रास्वपा सरकारबाट बाहिरिए पनि प्रधानमन्त्री प्रचण्ड भने त्यति तनावमा देखिएनन् । संसद बैठकबाट बाहिरिदै गर्दा प्रधानमन्त्री प्रचण्डले आफुले लामिछानेसँग थप छलफल गर्ने बताउदै गठबन्धन बचोस भन्ने आफ्नो चाहना रहेको बताए ।

प्रधानमन्त्री र ओलीप्रति नरम

पत्रकार सम्मेलनमा सभापति लामिछाने प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति नरम रुपमा प्रस्तुत भएका थिए । उनले प्रचण्डले सरकारमा काम गर्न दिएको बताउदै प्रसंशा नै गरे भने ओलीको बारेमा खासै टिप्पणी गरेनन् । उनको पत्रकार सम्मेलनमा अधिकांश समय मिडियाप्रति आकोश पोखेर नै सकिएको थियो । उनले पत्रकार सम्मेलनमा अन्य नेताहरुको बारेमा पनि कुनै नराम्रो टिप्पणी गरेनन् ।

फेरी गृहमन्त्री बन्ने चाहना 

लामिछानेले पाएमा आफु अहिले पनि गृहमन्त्री बन्न चाहेको बताए । पत्रकार सम्मेलनमा उनले जनताका काम छिटो गर्न तथा सरकार छ भन्ने अनुभूति दिलाउने मन्त्रालय गृह नै भएको भन्दै अहिले पाए पनि सो मन्त्रालय लिने बताए । तर आफुले गृह मन्त्रालय नपाएकोले पार्टीका अन्य मन्त्रीलाई पनि फिर्ता बोलाएको भन्ने आरोपको भने उनले खण्डन गरे । उनले पार्टीको निर्णय अनुसारनै मन्त्रीहरु फिर्ता हुने बताए । यद्यपी उनको कुरा आपसमा बाझिएको थियो । लामिछानेले एकातिर अहिले गृहमन्त्रालय पाए पनि आफु जान तयार रहेको बताए भने अर्को तर्फ उनले चितवन-२ बाट फेरी चुनाव नजितेसम्म कुनै पदमा नजाने पनि बताएका थिए ।

निष्कर्षमा, लामिछानेले पत्रकार सम्मेलन मार्फत आफुले गरेका केहि गल्तिको बारेमा चर्चा गरेपनि राजनीतिक रुपमा गरेका गल्तिको खासै चर्चा गरेनन् । उनी अहिले पनि सरकारमा गएर काम गर्नुपर्नेमा जोड दिइरहेका थिए । नागरिकता प्रकरण, राहदानी प्रकरणमा आफुलाई फसाइएको वा योजनाबद्ध ढंगले यो प्रकरणलाई उचालिएको उनको आशय थियो । तर प्रक्रियागत त्रुटी भएको र राहदानी बनाएको बारे भने उनले स्पष्ट रुपमा जानकारी गराएका छन् । त्यस्तै लामिछानेले आफ्नो पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएर नागरिकता र राहदानीका कानुनी कुरालाई नजरअन्दाज गरेका थिए । 

मिडिया क्षेत्रबाट समाजमा स्थापित भएर राजनीतिमा आएका लामिछानेले समग्र मिडियालाई दोषी देखाएर चुनौतीको पहाड आफ्नो अगाडी भने ल्याएका छन् । यसलाई उनले आउदा दिनमा कसरी झेल्छन् त्यो अहिले भन्न सकिन्न तर कहिँ न कहिँ आफु राहदानी प्रकरणमा दोषी करार हुनसक्ने बुझाइले लामिछाने यसरी आवश्यकताभन्दा बढी मिडियामाथि आक्रामक भएको पनि विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै