• २०८१ बैशाख १४ शुक्रबार

बाटो बिराएका रवि !

kharibot

काठमाडौँ । आफ्नो स्थापनाको एक बर्ष पुरा नहुदै अभूतपूर्व सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अहिले कठिन मोडबाट गुज्रिएको छ ।

आम निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट तथा समानुपातिकमा १३ सिट जितेको रास्वपा आफ्ना सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा एक सिट गुमाएर १९ सिटमा झरेको छ ।

असार १७ गते निर्वाचन आयोगमा दर्ता भएर राजनीतिमा हस्तक्षेपकारी कदम चालेको रास्वपामाथि आम मतदाताले विश्वास गरे । त्यसैको फलस्वरूप काठमाडौँमा चार, चितवनमा २ र ललितपुरमा एक सिट प्रत्यक्षमा जित हासिल गर्यो । समानुपातिकमा ११ लाख २४ हजार मत प्राप्त गर्दै संसदमा जबर्जस्त उपस्थिति देखाएरचौथो ठुलो दलको रुपमा स्थापित भयो ।

आम मतदाताले लामिछाने नेतृत्वको रास्वपाले संसदमा विपक्षी दलको रुपमा काम गरेर अनुभव बटुल्न जनमत दिएका थिए । मतदाताको अपेक्षा रास्वपाका सांसदले सरकारले गर्ने हरेक कामको संसदबाट खबरदारी गर्ने छन् भन्ने थियो । रास्वपाको संसदमा चौथो शक्तिको रुपमा उपस्थिति हुने निश्चित भएपछि ठुला दलहरुपनि हच्किएका थिए ।

उनीहरुपनि अब पहिला जस्तो झुटो आश्वासन दिएर राजनीति गर्न सकिन्न भन्ने निष्कर्षमा पुगिसकेका थिए । आम जनतामा पनि रास्वपाले राम्रो भूमिका खेलेमा अर्को चुनावसम्म बहुमतको अपेक्षा गरेका थिए । लामिछानेलाई अर्को निर्वाचनसम्म प्रधानमन्त्रीको सशक्त उम्मेदवारको रुपमा मतदाताले सोचिसकेका थिए ।

तर लामिछाने र उनको दल रास्वपाले फरक बाटो रोज्यो । संसदमा हाजिर नहुदै रास्वपा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने निर्णय गर्यो । लामिछानेले सत्ता भागबण्डामा आफैले नो नट अगेन अभियान चलाएका, टेलिभिजन कार्यक्रम चलाउदा आक्रामक रुपमा आलोचना गरेका केपी ओली र प्रचण्डसँग बार्गेनिंग गरिरहेको देखिए ।

मतदाताले लामिछानेको यस कदमलाई अलिबढी सशंकित र अलिकति आशाको रुपमा हेरे । लामिछानेले सरकारमा गएर आफ्ना एजेण्डामा काम गर्ने बताए । आमरुपमा एक किसिमले ठिकै त हो नि, सरकार बाहिर बसेर जनताकाको लागि काम गर्ने सिमित दायरा भन्दा सरकारमा गएर तुरुन्तै काम शुरु गर्नु नराम्रो कदम होइन भन्ने नै भयो । तर एक महिनामै लामिछाने नागरिकता प्रकरणमा दोषी देखिए र उनको सांसद पद खारेज भयो । यो लामिछानेका लागि, रास्वपाका लागि र उनलाई मत दिएका मतदाताका लागि, साथै लामिछानेको नेतृत्वमा वैकल्पिक राजनीति अगाडी आउछ भन्ने आशा गरेका सबैका लागि ठुलो झट्का थियो । नैतिकता र न्यायको कुरा गर्ने लामिछाने स्वयं नागरिकता जस्तो संबेदनशील विषयमा सामान्य प्रक्रिया पुरा नगरेकोमा दोषी बने र सांसद पद गुमाए ।

अलिकति अगाडीको चर्चा गरौ, उपप्रधान तथा गृहमन्त्री बनेदेखि नै लामिछानेमाथि केहि गर्ने दबाब थियो । उनले राहदानीको सरल वितरण गर्ने प्रयास गर्न खोजे तर ठोस प्रगति अहिलेसम्म देखिएको छैन । व्यक्ति हत्याको आरोप लागेका एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयमा लामिछानेको कडा आलोचना भयो । उनले नियम अनुसार हुन्छ भन्दै टारी रहे तर पक्राउ गर्ने तर्फ जागर नै देखाएनन् । सिडिओ सरुवामा प्रधानमन्त्री प्रचण्डसँग नै तालमेल मिलेन । यहाँसम्म लामिछानेलाई शंकाको लाभ दिने ठाउ देखिन्थ्यो । उनले भर्खर काम शुरु गरेका थिए, गर्दै पनि थिए । एक महिनामै नतिजाको अपेक्षा शायदै कसैले गरेको थियो ।

तर सर्वोच्चको आदेशपछि लामिछानेले बाटो विराएको स्पष्ट देखियो । सांसद पदसँगै गृहमन्त्री गयो, पार्टी सभापति पद पनि गयो । शुक्रबार सबै गुमाएका लामिछाने आइतबारनै सबथोक फेरी हासिल गर्ने प्रयासमा लागे । उनले आइतबार नै नागरिकता पुन: प्राप्त गरे र एकैदिन पार्टीको लगातार तीन बैठक बोलाएर सभापति पनि बनिहाले । यतिमा मात्र रोकिएनन्, उनी प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफुलाई पुन: गृहमन्त्री तुरुन्त नियुक्ति गर्न दबाब दिए । उनी सांसद नभएको अवस्थामा पनि मन्त्री बन्ने प्रयास गरे र अहिले पनि उनले त्यो जारी राखेका छन् ।

यस बिचमा पटक पटक प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेर सरकारमा फर्किने प्रयास गरेका छन् । उनले आफुले हिजो यिनै प्रचण्ड, ओलीलाई लगाएका सबै खाले आरोप, न्यायलय र अन्य सरकारी निकायलाई लगाएका आरोप अहिले आफैले उस्तै गरेर वा गर्न खोजेर बाटो बिराएको वा खराब नियत राखेरै राजनीतिमा आएको प्रमाणित गरिरहेका छन् । बिना सांसद मन्त्री हुने प्रयास गर्नु संबिधानमा व्यवस्था छ भन्दैमा लामिछाने जस्तो युवालाई सुहाउदैन । यो सत्ताको दुरुपयोगकै नियत हो ।

उनी अहिले पनि बाटो बिराएर हिडेका छन् । एक महिनाको सत्ता स्वादबाटै अहिले रास्वपा फुट्ने चर्चा चल्दैछ, सांसदहरु बोल्न सकिरहेका छैनन् । उनीहरुसँग न त आफ्नो सभापतिलाई डिफेन्ड गर्ने कुनै शब्द छन् न त पार्टीको पक्षमा बोल्ने कुनै विषय छन् । नयाँ किसिमले राजनीति गर्छौ भनेर आएका उत्साहित युवाहरुको मुख बन्द गरेर लामिछानेले गलत बाटो रोजेका छन् । अहिले रास्वपाको आवाज त जताततै हुनुपर्ने थियो । सबै विषयमा सुनिनुपर्ने थियो । तर गलत बाटो रोजेकै कारण अहिले सत्ता निल्नु न ओकल्नु बनेको छ भने बालकोट र बालुवाटारमा ओली र प्रचण्डले पालैपालो घण्टी बजाएर लामिछाने र रास्वपाको तेजबध गरिरहेका छन् । सत्ताको भुल भुलैयामा लामिछानेले बाटो बिराएको चालै पाएका छैनन् ।

अन्त्यमा लामिछाने अब सांसद नभएको अवस्थामा पार्टीको संगठन निर्माणमा केन्द्रीत भएर अहिलेसम्मको ड्यामेज कन्ट्रोल गर्नुनै सहि विकल्प हो । लामिछाने फेरी सत्तामा गएमा अब उनको र राश्वपाको अझ तेजबध हुने छ र अहिलेको भन्दा पनि खराब अवस्थामा घण्टी आन्दोलन पुग्ने देख्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै