• २०८१ असोज १ मंगलबार

जुन स्टेडियममा खेलेका थिए, त्यहीबाट हुने भयो पेलेको अन्तिम बिदाई

kharibot

काठमाडौँ । ब्राजिलका महान फुटबल खेलाडी पेलेले आफ्नो करियरका उत्कृष्ट खेल खेलेको रंगशालाबाटै सोमबार र मंगलबार अन्त्येष्टि शुरु गरिने भएको छ । पेले क्लब सान्तोसका लागि भिल्ला बेलेमिरो स्टेडियममा खेल्थे । उनको अन्त्येष्टि मेमोरियल नेक्रोपोल एकुमेनिका, सान्तोस कब्रिस्तानमा गरिनेछ । अन्तिम संस्कारमा भने उनको परिवार मात्रै रहनेछ ।

साओ पाउलोमा महान फुटबलरको अन्तिम यात्रामा ब्राजिलका जनता उपस्थित हुनेछन् र श्रद्धाञ्जली अर्पण गर्नेछन्, क्लबले एक विज्ञप्तिमा भनेको छ । एडसन एरेन्टेस डो नासिमेन्टो अर्थात् पेलेको बिहीबार क्यान्सरका कारण निधन भएको हो । उनी ८२ वर्षका थिए । तीन पटकको विश्वकप च्याम्पियनको पार्थिव शरीर सोमबार बिहान साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालबाट प्रस्थान गरी भिला बेलेमिरो रंगशालाको बिचमा राखिने क्लबले जनाएको छ ।

श्रद्धाञ्जली सेवा सोमबार स्थानीय समय अनुसार बिहान १० बजे सुरु भई भोलिपल्ट सोही समयमा समाप्त हुनेछ । पेलेको शवलाई सान्तोसको सडक र उनकी १०० वर्षीया आमा सेलेस्टेको घरसम्म लगिनेछ । ब्राजिलियन मिडियामा भर्खरैका रिपोर्टहरूले पेलेकी आमा पनि बिरामी र संवेदनशील रहेको बताएको छ । पेलेको सान्तोसमा घर छ, जहाँ उनले आफ्नो जीवनको अधिकांश समय बिताए । उनले आफ्नो अन्तिम वर्ष गुरुजा शहरमा बिताए ।

पेलेले ब्राजिलका लागि ९२ खेल खेलेका छन् । जसमा ब्राजिलले ६७ पटक जित, १४ खेल बराबरी र ११ पटक पराजित भएको थियो । १८ जुलाई १९७१ मा, पेले ब्राजिलको लागि अन्तिम पटक युगोस्लाभियाविरुद्ध खेलेका थिए ।

पेलेले आफ्नो १०००औं गोल ब्राजिलका गरिब बालबालिकालाई समर्पित गरेका थिए । पेलेलाई फुटबलको राजा (ओ रे डो फुटबल), राजा पेले (ओ रे पेले) वा केवल राजा (ओ रे) भनेर पनि चिनिन्छ ।

पेलेको प्रविधि र प्राकृतिक स्वभावको विश्वभर प्रशंसा गरिएको छ, र आफ्नो खेलका वर्षहरूमा उनी उत्कृष्ट ड्रिब्लिङ, पासिङ, गति, शक्तिशाली शट, हेड गर्ने र अवसर सिर्जना गर्ने असाधारण क्षमताका लागि परिचित थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै