• २०८१ बैशाख २० बिहीबार

‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनमा खुसियाली

kharibot

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि चितवनवासी हर्षित भएका छन् ।

जिल्लाको विकास निर्माण नयाँ गतिमा अघि बढ्ने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।

 गृहजिल्ला चितवन भएका दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेका थिए  ।

अघिल्लो कार्यकालमा चितवनबाट निर्वाचन जित्नु भएका उनले जिल्लामा ठूला विकास निर्माणका योजना सुरुवात गरेका थिए । ती योजनाले अब पूर्णता पाउने र नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री नहुँदा पनि ‘प्रचण्ड’को क्षेत्र र महानगर पूरै भागमा गएको पाँच वर्षमा ४० अर्बभन्दा बढीका योजना परेका थिए । ती सबै योजनामा मुख्य भूमिका प्रधामन्त्री दाहालकै थियो । चितवन क्षेत्र नं ३ मा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी भाग र माडी नगरपालिका पूरै पर्दछ ।

आफूले निर्वाचन जितेको क्षेत्रमा अरु धेरै विकासका काम गर्ने उहाँका कतिपय योजना अधुरै छन् । गोरखाबाट निर्वाचन जितेपनि प्रधामन्त्री दाहाल चितवनको अभिभावक भएकाले विगतमा झै जिल्लाको विकास निर्माणमा महत्वपूण भूमिका रहने नगरप्रमुख दाहालले बताए । आफू गोरखाबाट निर्वाचित भइसकेपछि यहाँ आएको बेला प्रधानमन्त्री दाहालले आफ्नो निर्वाचन क्षेत्र गोरखा र गृह जिल्ला चितवन पनि भएको भन्दै यहाँको विकासमा चासो दिँदै आयाएका थिए । नगरप्रमुख दाहालले भने, “‘प्रचण्ड’ चितवनको अभिभावक हो, जनप्रतिनिधि हुँदा पनि नहुँदा पनि उत्तिकै दायित्व उनिसँग छ । समग्र महानगरसँगै चितवनको विकासमा उनिको भूमिका रहन्छ ।”

चितवन उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस नेता राजन गौतमले उनि  प्रधानमन्त्री हुँदा चितवनले विकासको अवसर पाउने बताए ।

जिल्लाकै जनप्रतिनिधि बनाउनु पर्नेमा चितवन चुकेको भन्दै उनले गोरखाबाट जितेपनि गृहजिल्ला चितवन भएकाले यहाँको विकासमा प्रधानमन्त्री दाहालको भूमिका रहने उल्लेख गरे ।

जिल्लास्थित उद्योग सङ्घका पूर्वअध्यक्ष राजु पौडेलले प्रधानमन्त्री दाहाल यसअघि यहाँको जनप्रतिनिधि भएका बखत पनि  २० वर्षमा हुने विकास पाँचैं वर्षमा भएकाले  र आउँदो समयमा पनि जिल्लामा विकासको लहर आउने बताए । चितवनको विकासलाई देशैभर नयाँ नमूनाका रुपमा प्रस्तुत गर्न सकिने उनको भनाइ थियो ।

नेकपा (एमाले) का नेता विजय सुवेदीले  चितवनवासीका लागि यो समय महत्वपूर्ण अवसर भएको बताए ।

यसअघि पनि प्रधानमन्त्री दाहालले ठूला योजना ल्याएको स्मरण गर्दै उनले त्यतिबेला गर्न नभ्याएका आयोजनाले अब पूर्णता पाउने विश्वास व्यक्त गरे ।

नारायणी तटबन्धजस्ता ठूला आयोजना उनले नल्याएको भए आउने थिएन भन्दै नेता सुवेदीले जिल्लावासीले यो अवसरलाई सदुपयोग गर्नुपर्ने बताए ।

विकासका लागि पूँजी र साधनस्रोत आवश्यक पर्ने भएकाले त्यसलाई जोड्न उहाँ प्रधानमन्त्री भएपछि अझै सहज भएको बताए ।

प्रधानमन्त्री दाहालको शिवनगरमा स्थायी घर छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै