काठमाडौं । बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो ।
बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् ।
यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले एक एक गोल गरिन् ।
एकतर्फी खेलमा बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।
खेलको १८ औं मिनेटमा सबिनाले गोल गर्दै बंगलादेशको अग्रता २-० को बनाए ।
३० औं मिनेटमा सरकारले गोल गर्दा बंगलादेशको अग्रता तेब्बर बन्यो ।
खेलको ३५ औं मिनेटमा चक्माले गोल गरेपछि पहिलो हाफमा बंगलादेश ४-० ले अघि रह्यो ।
दोस्रो हाफमा बंगलादेशले थप ४ गोल गर्यो ।
खेलको ५४ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता ५-० को बनाईन् ।
खेलको ५७ औं मिनेटमा प्रभिनले गोल गर्दा बंगलादेश ६-० ले अघि रह्यो ।
८७ औं मिनेटमा खातुनले गोल गरेपछि बंगलादेश ७-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा सबिनाले ह्याट्रिक पूरा गर्दै बंगलादेशलाई ८-० को जित दिलाईन् ।
अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।
नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल साँझ ५:३० बजे सुरु हुनेछ ।
फाइनल खेल सोमबार हुनेछ ।