काठमाडौँ । भारतीय पूर्व कप्तान विराट कोहलीले अन्तत: अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् । विराटले एसिया कपमा अफगानिस्तानविरुद्धको सुपर–४ खेलमा शतक प्रहार गरेका छन् । विराटले ६१ बलमा अविजित १२२ रन बनाए ।
उनले ५३ बलमा आफ्नो शतक पूरा गरेका थिए । भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो ।
विराटले करिब तीन वर्ष (१०२० दिन) पछि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् ।
यसअघि विराटले नोभेम्बर २३, २०१९ मा बंगलादेशविरुद्धको कोलकाता टेस्टमा आफ्नो करियरको ७०औं शतक बनाएका थिए । त्यसयता विराटले १०२० दिनपछि आफ्नो ७१औँ अन्तर्राष्ट्रिय शतक बनाएका छन् ।
विराटको यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो ।
यो शतकसँगै विराट अहिले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय शतक बनाउने मामिलामा अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङसँग बराबरमा रहेका छन् । दुबैको नाममा ७१–७१ शतक छ ।
विराटले टेस्ट क्रिकेटमा २७, एकदिवसीय क्रिकेटमा ४३ र टी-२० क्रिकेटमा यहि एक शतकसहित ७१ शतक बनाएका छन् ।
त्यस्तै पोन्टिङले टेस्टमा ४१, एकदिवसीयमा ३० शतक बनाएका छन् ।
उनीहरु भन्दा अगाडी सचिन तेन्दुलकर रहेका छन् । सचिनले अन्तर्राष्ट्रिय क्रिकेटमा १०० शतक बनाएका छन् । सचिनले टेस्टमा ५१, एकदिवसीयमा ४९ शतक बनाएका छन् ।









