• २०८१ बैशाख १५ शनिबार

गण्डकी प्रदेशसभा- विनियोजन विधेयक सम्बन्धमा सम्बन्धित मन्त्रीको जवाफ

kharibot

गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका छन् ।

जवाफमा अधिकांशले सीमित साधनस्रोतका बाबजुद प्रदेशवासीका अपेक्षालाई  सम्बोधन गर्न खोजिएको बताए । 

सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले प्रहरीमा दरबन्दीभन्दा धेरै कम जनशक्ति हुँदा अपेक्षित काम गर्न कठिनाइ भएको बताए ।

विपद् व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी दिए ।

इलाका प्रहरी तथा प्रहरी चौकीमा सवारी साधनको कमी भएको विषय आए पनि आगामी आवमा अत्यावश्यक बाहेक सवारीसाधन खरिद नगर्ने नीतिका कारण त्यसका लागि बजेट विनियोजन नभएको उनले बताए ।

वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले बाँदरका कारण कृषक समस्यामा परेका कारण यसको समाधानका लागि बाँदर पार्कको सम्भाव्यता अध्ययन गर्न खोजिएको बताए ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले निर्माण गरिएका कानुनको कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रदेशमा बनेकामध्ये ३९ वटा कानुन कार्यान्वयनका क्रममा रहेको उनले जानकारी दिए ।

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा उत्पादन र उत्पादकत्व बढाउँदै आयात प्रतिस्थापन गर्ने सरकारको योजना रहेको बताए । उत्पादनका आधारमा प्रोत्साहन, प्रभावकारी बजार व्यवस्थापन लगायतका विषयलाई जोड दिइएको उनले उल्लेख गरे ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया गुरुङले स्वास्थ्य सेवालाई सहज, सुलभ तथा प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको बताइन् ।

प्रदेशमा नियमित खोप कार्यक्रमअन्तर्गत १५ महिना मुनिका बालबालिका सबैले खोप पाएको उनले जानकारी गराईन ।

कोभिड–१९ विरुद्धको खोप १२ वर्ष माथिकाले दुई मात्रा पाइसकेको मन्त्री गुरुङले उल्लेख गरिन् ।

शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कानुन तथा साधन स्रोतभित्र रहेर कार्यक्रम अघि सारिएको बताए ।

प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति निर्माण गर्नका लागि सरकारले बजेट छुट्याइएको उनले बताए ।

यसबाट स्वरोजगारी बनाउँदै उत्पादनसँग जोड्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले होमस्टेमा स्थानीय उत्पादनलाई जोड दिइएको बताउँदै राम्रो अनुगमन गरेर मात्रै होमस्टेमा लगानी गर्ने स्पष्ट पारे ।

नवलपुरको लौकाहा खोला र कास्कीको पुडिटार र तनहुँको शुक्ला गण्डकी नगरपालिकामा बन्ने भनिएका औद्योगिक क्षेत्रका लागि केही काम अघि बढेको उनले जानकारी दिए । 

लौकाहा खोलाको नापी भएको र १४१ बिघा जमिन प्रमाणित भएकोे जानकारी दिदै उनले तनहुँको शुक्लागण्डकीतर्फ लगभग एक हजार ३०० रोपनी नापी भएको र कास्कीमा नापीको काम अझै तीव्रता नआएको जानकारी दिए ।

युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङेले बजेट थोरै भएकै कारण बनाएका खेल मैदानको स्तरोन्नति गर्न नसकेको बताए ।

अघिल्लो वर्ष प्रदेशभरि २५० खेल मैदान बनाएको र १५० पनि निर्माण प्रक्रिया पूरा हुने क्रममा रहेको उनले जानकारी दिए ।

मन्त्रालयमा सात महिनाको अवधिमा पाँच जना सचिव फेरिएको बताउँदै उनले जसका कार्य सञ्चालनमा कठिनाइ आउने गरेको उल्लेख गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै