काठमाडौँ । बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले बेलायतको प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका छन् । सामाजिक सञ्जाल मार्फत सुनकले आफ्नो पार्टी कन्जरभेटिभ पार्टीको नेता बन्न दबिदारी पेश गरेका हुन् ।
जोनसनको विरोधमा मङ्गलबारदेखि भारतीय मूलका पूर्व अर्थमन्त्री सुनक र स्वास्थ्यमन्त्रीले राजीनामा दिएसँगै राजीनामाको लहर चलेको थियो ।
चार दर्जनभन्दा बढी मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री जोनसनले विहिबार पार्टी नेताबाट राजीनामा दिएका थिए । उनले पार्टी नेता चयनको तालिका आउदो साता शुरु हुने र अक्टोबरमा हुने पार्टीको महाधिवेशनमा नेता चयन हुने भएको छ ।
सुनक भारतको इन्फोसिसका सह-संस्थापक नारायण मूर्तिका छोरी ज्वाई हुन् । उनले अक्षता मूर्तिसँग विवाह गरेका छन् ।
सुनक बाहेक बेलायतको नयाँ प्रधानमन्त्रीको दौडमा विदेशमन्त्री लिज ट्रस, पूर्व स्वास्थ्यमन्त्री साजिद जावेद, सांसद जेरेमी हन्ट, महान्यायाधिवक्ता रहेकी नेतृ सुएल्ला ब्राभेरम्यान, गृहमन्त्री प्रिती पटेल, रक्षा मन्त्री बेन वालान्स, सांसद स्टिभ बाकेर रहेका छन् ।









