• २०८१ बैशाख १४ शुक्रबार

निर्वाचन आयोगको प्रदेशस्तरीय समीक्षा

kharibot

चितवन । निर्वाचन आयोगले बागमती प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यशाला आज यहाँ सम्पन्न गरेको छ ।

बागमती प्रदेशका जिल्लाहरू र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सरोकारवालाको उपस्थितिमा समीक्षा गरिएको हो ।
 
सो अवसरमा आयोगका आयुक्त सगुनशमशेर राणाले समीक्षा कार्यक्रममा प्राप्त सुझावलाई आयोगले कार्यान्वयनका लागि छलफलमा राख्ने बताए ।

स्थानीय तहको निर्वाचनमा पुर्याएको भूमिकाको आयोगले उच्च सम्मान गरेको भन्दै उनले अब हुने निर्वाचनमा त्यही ढङ्गबाट जुट्नुपर्नेमा जोड दिए ।

प्राप्त सुझावलाई केन्द्रीय तहमा समीक्षा गरेर बाधाव्यवधानहरू फुकाउँदै अघि बढ्ने उनले विश्वास दिलाए ।
 
सोही अवसरमा आयोगका सहसचिव तुल्सीबहादुर श्रेष्ठले निर्वाचनको सम्पूर्ण गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागीबाट पाँच समूह विभाजन गरेर स्थानीय तहको निर्वाचनमा भएका सबल पक्ष, भएका कमीकमजोरी र सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरी सुझावसहित प्रस्तुतीकरण गरिएको थियो ।
 
कार्यक्रममा चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र मकवानपुरका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, निर्वाचन अधिकृत, राजनीतिक दलका नेता, नागरिक समाज, पर्यवेक्षक लगायतको सहभागिता रहेको थियो ।

अन्य जिल्लाबाट जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत समेतको उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा मतदाता नामावली, मतदाता परिचयपत्र, मतदान केन्द्र, मतदान प्रक्रिया, मतगणना तथा परिणाम, निर्वाचन कार्यक्रम, उम्मेदवारी मनोनयन लगायतका विषयमा छलफल र सुझाव दिइएको थियो ।

भरतपुर महानगरको नगरसभा सम्पन्न 

भरतपुर महानगरपालिकाको एघारौँ नगरसभा सम्पन्न भएको छ ।

नगरसभाले नगरप्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत पाँच अर्ब ७४ करोड बराबरको बजेट पारित गरेको हो ।

नगरसभाले आर्थिक वर्ष ०७९/८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको छ । 

सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरेको छ ।

सभामा प्रमुख दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिबद्धता व्यक्त गरे ।

सबैजना जनप्रतिनिधिको एक मात्र उद्देश्य र सङ्कल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने उनले बताए ।

सभालाई सम्बोधन गर्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले यस पटकका जनप्रतिनिधिहरू सबै जना युवा समूहबाट भएकाले रचनात्मक कार्यका साथ भरतपुरको विकासमा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समाधानका लागि सधै सल्लाह सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

अहिले वडामा दुई करोड ५० लाखका दरले बजेट विनियोजन भए पनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने उनको भनाइ छ । 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरू केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडाध्यक्ष अरुण पीडित भण्डारी लगायतले बोलेका थिए । नगरसभा गत शुक्रबार सुरु भएको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै