रविको पार्टी घोषणा: दाजु हरिशरणको प्रतिक्रियाले तरंग !
खरीबोट
२०७९ असार ७ मंगलबार
काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछानेले मंगलबार नयाँ पार्टीको घोषणा गरेका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी घोषणा गरेका रविले आफ्नै नेतृत्वमा मंगलबार नै निर्वचन आयोग पुगेर दल दर्ताको निवेदन दिएका छन् । त्यस्तै मंगलबार नै पार्टी कार्यालयको उद्घाटन समेत गरेका छन् ।
लामिछानेले केहि प्रतिबद्धताका साथ नयाँ दलको घोषणा गरिरहदा सामाजिक सञ्जाल र मिडियामा मिश्रित प्रतिक्रिया आएको छ । धेरै जसोले पार्टीको नाममा रहेको स्वतन्त्र शब्दमा प्रश्न उठाएका छन् । स्वतन्त्र कसरी पार्टी हुन्छ ? अब स्वतन्त्र स्वतन्त्र रहेनन् जस्ता प्रतिक्रिया सामाजिक सञ्जालमा आएको छ ।
चुनाव चिन्ह घण्टी प्रस्ताव
रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । लामिछानेले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को प्रस्तावित चुनाव चिन्ह घण्टी राखेको बताएका हुन् ।
कहाँबाट लड्छन चुनाव ?
सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गरेका छन् । ‘मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको छ । हार्ने सुविधा छैन् । राजनीति राजनीति जस्तै गर्नुपर्छ ।
सुझबुझका साथ जहाँबाट प्रतिकृया आउछ त्यहाँबाट उम्मेदवार दिन्छु’, मंगलबार राजधानीको सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने । उनले अगाडि थपे, ‘एक जनालाई संसद् छिर्न म रोक्छु । अर्कोलाई रोक्न तपाइँ आउनुहोस । बेतिथीको मेन स्वीच अफ गरौँ । ’
पार्टीका सात विशेषता
रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सात विशेषता सार्बजनिक गरेका छन् ।
१. प्राइमेरी निर्वाचन हुने ।
२. युवालाई ५० प्रतिशत एकको व्यवस्था ।
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने ।
४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था ।
५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने ।
६. परिवारवादलाई पूर्ण रूपमा निषेध ।
७. भ्रातृसंगठन र कार्यकर्तारहित ।
पार्टी कार्यालय
रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेसँगै पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ । बसुन्धाराबााट पार्टीको कार्यालय सुभारम्भ भएको हो । मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन् ।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन् । यो पार्टीमा २१ जना सदस्य रहेको जनाइए पनि नाम भने सार्वजनिक गरिएको छ । निवेदन दिँदै लामिछानेले नचिनिएका व्यक्तिहरु टीममा रहेको बताएका छन् । उनले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन् ।
पहिलो गाँसमा ढुंगा: दाजुभाईमै मिलेन कुरा
रवि लामिछानेले पार्टीको घोषणा गरेको केहि समयमानै उनका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको विचार रविलाई पहिलो गाँसमै ढुंगा भएको विश्लेषण गरिएको छ ।
हरिशरणले यस अघि नै काठमाडौँ-३ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् भने उनले पनि स्वतन्त्र उम्मेदवारको समुह बनाउने अभियान शुरु गरेका छन् । धेरैको अनुमान हरिशरण र रवि एकै अभियानमा लागेर बलियो संदेश दिन्छन भन्ने रहेकोमा त्यसको विपरित दाजुभाईनै विपरित ध्रुवमा देखिए । रवि लामिछानेले राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गर्दै आफ्नो पार्टीमा परिवारवादको कुनै स्थान नभएको घोषणा गरिरहदा हरिशरणले भाई रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरे ।
सामाजिक सञ्जालमार्फत हरिशरणले लेखेका छन्, ‘राजनैतिक रुपले त्यो पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) मा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।’
सो घोषणा गर्दै हरिशरणले फेसबुकमा लेखेका छन् :
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी
नैतिक न राजनैतिक ?
नयाँ पार्टी घोषणा गरेकोमा रवि लामिछानेलाई बधाई । पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास हो । यस क्रममा मनमा लागेको एउटा रोचक कुराः
कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डलीलाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रबेश गर्नु होला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है । दर्ता हुन बाँकी सो पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संलग्न हुने त कुरै भएन । राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु ।
स्वतन्त्र र दलगत राजनितिका लागि म सङ्ग अपार अवसर र सम्भाबना छन् । बाँकी कुरामा कमेन्ट गर्ने मेरो हैसियत छैन । नेपाल आमाको एक स्वतन्त्र नागरिकको नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहनेछ ।