• २०८१ बैशाख १८ मंगलबार

चुरे पहाडको संरक्षण हुनुपर्छ- पूर्वराष्ट्रपति डा. यादव

kharibot

विराटनगर । पूर्वराष्ट्रपति डा रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताएका छन् । 

पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान सम्पूर्ण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको स्पष्ट पारे । उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महशुस भएको बताए ।

पूर्वराष्ट्रपति डा यादवले पिताजी कृष्णप्रसाद कोइराला समाजका परिवर्तक भएकाले उहाँको योगदानलाई नयाँ पिँढीले अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै देशको एकता र अखण्डतालाई कायम राख्न लोकतन्त्रको धरै ठूलो भूमिका रहेको बताए ।

लोकतान्त्रिक पद्धतिबाट नै समाजलाई परिवर्तन गर्न सकिने विचार बोकेका पिताजी कृष्णप्रसाद कोइराला त्यागी, समाजसेवी, शिक्षाप्रेमी र परिवर्तनका अग्रणी रहेको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले आफू अहिले स्वतन्त्र रहे पनि विद्यार्थी जीवनदेखि लागेको पार्टीबाट नेपालको प्रथम राष्ट्रपति बनेकामा गर्व लागेको धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पूर्वराष्ट्रपति डा यादवलाई सम्मानपत्र हस्तान्तरण गर्दै क्षणिक लाभका लागि राजनीतिक गर्ने मानिसबाट समाजले लाभ लिन नसकिने बताए । उनले पिताजी कृष्णप्रसाद कोइरालाको पदमार्गमा हिँड्न सके समाज अझ बलियो र विकसित हुने धारणा राख्दै चुरे पर्वत दोहनको विषयमा सरकार बेखर रहेको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्व. पिताजी कृष्णप्रसाद कोइरालाले नै विराटनगर सहर बसाएको प्रसङ्ग उल्लेख गर्दै समाजलाई परिवर्तन गर्न, विकास गर्न र मुलुकमा प्रजातन्त्र ल्याउन पिताजी कोइरालाको योगदानको अपूरणीय रहेको स्मरण गरे ।

कार्यक्रममा परिषद्का अध्यक्ष कविराज न्यौपाने, प्रा. डा घनश्यामलाल दास, परिषद् सदस्य विश्वनाथ रिजाल, प्रा. डा कुलप्रसाद कोइरालाले पनि बालेका थिए । यसअघि विराटनगरको बगरगाछी चोकमा स्थापित पिताजी कृष्णप्रसाद कोइरालाको प्रतिमा पूर्वराष्ट्रपतिले अनावरण गर्नुभएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै