• २०८१ बैशाख १४ शुक्रबार

आइपिएलमा फ्लप ५ स्टार भारतीय खेलाडी

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) सकिएको छ । नयाँ टिम गुजरात टाइटन्सले पहिलो पटकमै आइपिएलको उपाधि जितेको छ । समग्रमा यो सिजनमा भारतले भविष्यका लागि धेरै युवा खेलाडीहरू पाएको छ भने भारतीय राष्ट्रिय टिमका ठुला खेलाडीहरु पूर्ण रुपमा फ्लप देखिएका छन् ।

नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकप अघि आइपिएलमा भारतीय टिमका कप्तानसहित वरिष्ठ खेलाडीहरु रोहित शर्मा, विराट कोहलीलगायतका खेलाडीको खराब फर्मले भारतलाई चिन्तित तुल्याएको छ । यस रिपोर्टमा आइपिएलमा फ्लप भएका भारतीय टिमका ५ खेलाडीको बारेमा बताउदै छौं ।

रोहित शर्मा

विस्फोटक ब्याट्सम्यान रोहित शर्माले पूरै सिजनमा एक पचास रन बनाउन पनि सकेनन् । मुम्बई इन्डियन्सका कप्तान रोहित यस आईपीएलमा सबैभन्दा फ्लप भारतीय खेलाडी हुन् । यो सिजन उनको करियरको सबैभन्दा खराब सिजन साबित भयो । १४ खेलमा उनले २६८ रन बनाए र एक पनि अर्धशतक उनको ब्याटबाट निस्केन । उनको उत्कृष्ट स्कोर ४८ थियो । रोहित शर्माले पूरै सिजनमा ६ पटक मात्र २० रनको अंक पार गर्न सके ।

रोहितको खराब फार्मको मार मुम्बई इन्डियन्सले पनि बेहोर्नुपरेको थियो र टोलीले आइपिएल इतिहासमा मात्र ४ खेल जितेर पहिलो पटक अंक तालिकाको अन्तिम स्थानमा रह्यो । हालै रोहित शर्मालाई तीनवटै ढाँचामा भारतीय टोलीको कप्तान बनाइएको छ । यस्तो अवस्थामा उनको खराब फर्मले चिन्ता बढाएको छ । टी–२० विश्वकप पनि यसै वर्ष नोभेम्बरमा हुने भएको छ । रोहित विश्वकप अघि फर्ममा नआएमा टीम इण्डियालाई समस्या पर्नेछ ।

विराट कोहली

पुर्व कप्तान विराट कोहलीको यस सिजनमा २००९ पछि पहिलो पटक २५ भन्दा कमको औसत देखिएको छ । पछिल्लो दुई वर्षदेखि क्रिकेट मैदानमा औसत प्रदर्शन गर्दै आएका विराट कोहलीको ब्याट यस आइपिएलमा पनि शान्त रह्यो ।

कोहलीले सिजनका १६ खेलमा २२.७३ को औसतमा ३४१ रन मात्र बनाउन सकेका छन् । सन् २००९ पछि यो पहिलो पटक हो जब कोहलीले आईपीएल सिजनमा २५ भन्दा कम औसत बनाएका थिए । टोलीको कप्तानी छोडेपछि ब्याट्सम्यानको रुपमा मात्र खेल्ने विराटले कुनै प्रभाव देखाउन सकेनन् ।

एक पटक आईपीएलमा ४ शतक प्रहार गरेका कोहलीले यस आईपीएलमा मात्र दुई अर्धशतक बनाए, जसमध्ये एक अर्धशतक १०९ को साधारण स्ट्राइक रेटमा आयो । उनी यो सिजनका ३ खेलमा गोल्डेन डक अर्थात् आफ्नो इनिङ्सको पहिलो बलमा आउट भएका थिए ।

रविन्द्र जडेजा

अलराउन्डर रविन्द्र जडेजाको आइपिएलको यो सिजन पनि बिर्सना लायक रह्यो । उनले न त बलिङमा जादू देखाउन सकेन न ब्याटमा चमत्कार गर्न सके । चेन्नई सुपर किंग्सले कप्तान बनाएपनि टिमको खराब प्रदर्शनपछि बीच सिजनमै कप्तानी समेत छोडेका थिए । त्यसपछि जडेजा चोटका कारण सिजनका बाँकी खेलबाट बाहिरिएका थिए । टूर्नामेंटको बीचमा जडेजा र चेन्नई सुपर किंग्स बीच मतभेदको रिपोर्ट पनि आएको थियो ।

जडेजाले यस सिजनमा चेन्नईका लागि १० खेल खेले । जसमा उनको ब्याटबाट ११६ रन मात्रै निस्केको थियो । टोलीमा फिनिशरको भूमिका निर्वाह गरेका जडेजाले मात्रै ११८ को स्ट्राइक रेटमा ब्याटिङ गर्न सके । बलिङमा पनि जडेजाले १० खेलमा ५ विकेट मात्र लिएका छन् ।

ऋषभ पन्त

ऋषव पन्तको पनि यो आइपिएल सम्झन लायक रहेको छैन । विस्फोटक ब्याट्सम्यानको छबि बनाएका पन्तले यस सिजनको १४ खेलमा १६ छक्का मात्रै प्रहार गर्न सकेका छन् । दिल्लीका कप्तान तथा विकेटकिपर ब्याट्सम्यान पन्तले यस आइपिएलमा अपेक्षाअनुरुप प्रदर्शन गर्न सकेनन् । पन्तले सिजनका १४ खेलमा ३०.९१ को औसतमा ३४० रन मात्र बनाए भने उनको ब्याटबाट एउटा पनि अर्धशतक लागेन ।

हालै दक्षिण अफ्रिकाविरुद्धको घरेलु शृंखलाका लागि भारतीय टोलीको उपकप्तान बनाइएका पन्त यो सिजनभर कप्तानीको दबाबमा देखिए ।

मोहम्मद सिराज

भारतका प्रमुख बलरको रुपमा उदाइरहेका सिराजको पनि यो आइपिएल खराब गयो । २०२१ को आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका सिराजले यस सिजनमा सर्वाधिक छक्का खाने बलरको रुपमा कीर्तिमान बनाए । २०२२ मा आरसीबीले ७ करोडमा सिराजलाई किनेको भएपनि उनले त्यो अनुसारको अपेक्षा पूरा गर्न सकेनन् । प्रतियोगिताका १५ खेलमा सिराजले ५७.११ को औसत र ९ विकेट मात्र लिएका थिए । यति मात्र होइन, सिराजको बलिङ आरसीबीका लागि निकै महँगो साबित भयो र उनले १०.०८ प्रति ओभरको इकोनोमीमा रन दिए ।

उनी आईपीएलको कुनै पनि सिजनमा ३० भन्दा बढी छक्का खाने पहिलो बलर बनेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै