काठमाडौँ । तारा एयरले हराइरहेको आफ्नो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ ।
सोमबार बिहान एक विज्ञप्ति जारी गर्दै तारा एयरले विमान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानसुरे भिरमा १४ हजार ५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराएको हो ।
विज्ञप्तिमा अहिले उद्धारकर्मीहरु घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको उल्लेख गरेको छ ।
घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोलि पुगेको छ । विमान दुर्घटना भएको स्थल यार्सागुम्बा टिप्न गएका स्थानीयले पत्ता लगाएपछि प्रहरीलाई खबर गरेका थिए ।
आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु ज्युँदो नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् ।
सबैले शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो ।










