• २०८१ बैशाख १५ शनिबार

शिवपुरी निकुञ्ज बीचको बस्ती स्थानान्तरण गर्न सिफारिश

kharibot

फाइल तस्बिर

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने जंगलभित्र रहेको मानव बस्ती स्थानान्तरण गर्न सुझाव दिइएको छ । 

वन तथा भू–संरक्षण मन्त्रालयले निकुञ्जभित्रको बस्ती स्थानान्तरणका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको थियो । निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरको संयोजकत्वमा गठन भएको उक्त समितिले अध्ययन गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रतिवेदन बुझाएको छ । 

प्रतिवेदनमा निकुञ्जको बीचमा रहेका बस्ती सार्न सिफारिश गरिएको प्रमुख संरक्षण अधिकृत कुँवरले बताए । निकुञ्ज बीचमा बस्ती हुँदा त्यहाँ बसोबास गर्ने स्थानीयवासीलाई आवतजावत, जीविकोपार्जनलगायत समस्या हुँदै आएको थियो । 

कार्यदलले विभागमा बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रालयमा पठाइएको सूचना अधिकारी नारायण रुपाखेतीले बताए । मन्त्रालयमा राजनीतिक नेतृत्व आएपछि प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ । 

निकुञ्जभित्र गोकर्णेश्वर नगरपालिका–१ मा चिलाउने, कुने, मूलखर्क, ओखरेनी र सानो ओखरेनी गरी पाँचवटा बस्ती छन् । साबिकको सुन्दरीजल गाविसका छ वटा वडा रहेको उक्त बस्तीमा जंगली जनावरले बाली भित्र्याउन दिँदैन । उपत्यकामा पिउन ल्याइएको वाग्मतीको पानीको मुहान माथिको सो बस्तीका कारण पानीमा फोहर मिसिएको गुनासो बढेको छ । 

स्थानीयवासीले बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् । मानव बस्ती भए पनि निकुञ्ज प्रशासनले सडक पूर्वाधार निर्माणमा कडाइ गर्दै आएको छ । बल्ल बल्ल बनेको कच्ची सडकमा सवारी प्रवेश गर्दा उनीहरुले प्रतिटिपको रु ५६५ कर तिर्दै आएका छन् । करका कारण यहाँ खाद्यान्न एवं निर्माण सामग्री महँगो हुने गरेको छ । 

महँगीका कारण भूकम्पले भत्किएका घर यहाँ पुनःनिर्माण हुन सकेको छैन । वडाध्यक्ष राम मानन्धर पानीको स्रोतको सफाइ, निकुञ्जको संरक्षण र नागरिकलाई सहज जीवन निर्वाहका लागि पनि बस्ती स्थानान्तरणको माग गरिएको बताउँछन् । 

‘निकुञ्ज प्रशासन र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको छलफलमा नगरपालिका–२ नयाँपाटी तथा वडा नं ४ गोकर्णको पर्ती जग्गामा बस्ती सार्न सकिने सुझाव दिएका छौँ,’ उनले भने । बस्ती स्थानान्तरणको काम छिटो भए भूकम्पपछिको पुनःनिर्माणमा सहज हुने उनको भनाइ छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै