• २०८१ बैशाख १४ शुक्रबार

मतदाता फकाउन गाउँका कुना काप्चामा पुग्दै कर्णालीका उम्मेदवार

kharibot

सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै दलहरुलाई चुनाव लागेको छ । शहरदेखि गाउँ गाउँका कुना काप्चामा विभिन्न दलहरुको प्रचारप्रसारले रौनकता बढाएको छ । कोही दलका नेता घरदैलो कार्यक्रम गर्दै जनता फकाउँदै छन् ।

कोही भने विभिन्न आश्वासनका पोका फुकाउँदै छन् । स्थानीय तहको निर्वाचन हुन १० दिन बाँकी रहदा विभिन्न दलहरुलाई चुनावी चटारो छ ।  शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल परिवार दल लगायतका अन्य दलहरुले चुनाव प्रचारलाई व्यापक बनाएका छन् । 

दैलेख 

कर्णालीमा पालिकाको विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले पनि भोट माग्न सुरु गरेका छन् । दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा उम्मेदवार चयन भएसँगै उम्मेदवार बनेकी लक्ष्मी देवि शाह प्रचार प्रसारमा रहेकी छन् । 

यस्तै, नेकपा माओवादी केन्द्रबाट ठाटीकाँध गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका निर्मल कुमार रावत(उमेश) पनि उम्मेदवार बनेसँगै मतदाता फकाउन चुनावी मैदानमै व्यस्त छन् ।

ठाटीकाँधको समृद्धि उत्पादनमा वृद्धि गर्दै एक गाउँ एक उत्पादन नीतिमा जोड दिएर गाउँको पहिचान स्थापित गर्दै किसानको उत्पादन गाउँपालिकाले खरिद गर्ने र जनताको क्षमता बढाउने एजेण्डा रहेका छन् ।

कृषि विकासका लागि किसान विकास कोष कार्यक्रम, सबै जनजन कर्मशिल झनझन, उद्यमशिलता विकास युवा रोजगारी, सिप चिन्छ पालिकाले किन्छ, पालिकाकै डेरी स्वाद फेरी फरी भन्ने नारा सहितका योजना रहेका छन् । त्यस्तै जनजनको ईच्छा, स्वास्थ्य र शिक्षा, स्वस्थ पालिका, स्वस्थ पालिकाबासी,मातृशिशु सुरक्षा कार्यक्रम,पालिका एम्बुलेन्स सेवा नारा सहितका योजना रहेका छन् । 

सुर्खेत 

यता  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पनि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारले पनि मतदाता फकाउन घर–घरै पुग्न थालेका छन्  । वीरेन्द्रनगरको मेयरमा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको छ । गठवन्धन दलबीच तालमेल गरिने भनिए पनि एकिकृत समाजवादी गठवन्धनबाट बाहिरीएको छ ।

वीरेन्द्रनगरको मेयर र उप्रमुखमा तालमेल गरेका नेपाली कांग्रेस र माओवादीले वडामा भने तालमेल गरेका छैनन् । आइतबारबाट नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका उपेन्द्रबहादुर खड्का मतदाताको विश्वास जित्न वीरेन्दनगर–८ मा घरदैलो कार्यक्रम सरिक भएका छन । खड्काले मतदाताको मन जित्न आफ्ना घोषणा पत्र सुनाउँदै हिँडेका छन् ।

भेरीको पानी उपत्यकामा ल्याउनेदेखि वीरेन्द्रनगरलाई वातावरणमैत्री हरित शहरका रुपमा विकास गर्दै वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर र महानगरपालिका बनाउने योजना खड्काले अघि सारेको समेत बताएका छन् ।

यस्तै, वीरेन्द्रनगरको मेयरको उम्मेदवार मोहनमाया ढकाल पनि चुनावी प्रचार प्रसारका क्रममा मतादाताको दैलौमै पुग्न थालेकी छन् । उनी पनि आइतबारबाट मतदाता भेट्ने कार्यक्रममा हिँडेकी छन् । मेयर पदका उम्मेदवार ढकाल दिनभर ढकाल वडा नं ७ इत्राममा मतदाताका घरदैलोमा पुगेकी हुन ।

नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेकी ढकाल यसअघि २०७४ को स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी थिइन । ढकालका चुनावी प्रतिवद्धता पनि खड्काको भन्दा फरक छैनन । विवादरहित पाँच वर्षमा वीरेन्द्रनगरको सम्रग विकास गरेको दावी गर्ने ढकालको मुख्य योजना आफ्नो कार्यकालमा सुरु भएका र गर्न नसकिएका कामहरुलाई अबको कार्यकालमा पुरा गर्ने रहेका छन ।

भेरीको पानी उपत्यकामा ल्याउने पक्रिया सुरु गरी टेण्डरसमेत भई सकेको भन्दै छिट्टै वीरेन्द्रनगरवासीलाई भेरीको पानी खुवाने मुख्य योजना रहेको छ । गुरुयोजना निर्माण, नगर बस सञ्चालन गर्न नसक्नु ढकालले आफ्नो कार्यकालमा पुरा गर्न नसकेको योजना रहेको उल्लेख गरेकी छन । 

जुम्ला 

यस्तै, जुम्लाको हिमा गाउँपािलका पनि उम्मेदवारहरु मतदातासँग मत माग्न घर–घरमा पसेका छन् । नेकपा )माओेवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार अम्मराज शाही (अम्मरजंग) बनेका छन् । शाहीले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै मत माग्न मतदाताको घर–घरमा छिरेका छन् ।

शाहीले समाजबाद उन्मुख समृद्धि, आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि, पालिकास्तरमा एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान, रैथाने बालीहरुको संरक्षण र प्रवद्र्धनसहित कृषिको आधुनिकिकरण, यान्त्रिकरण र ब्यावसायीकिकरणको ग्यारेन्टी, उद्यमशिलताको विकास र रोजगारीको विस्तार जस्ता योजना अगाडी सारेका छन् ।

यस्तै, शाहीले निः शुल्क आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि एक वडा एक स्वास्थ चौकी, केन्द्र र पालिका स्तरमा आधारभूत अस्पताललाई पुर्ण क्षमतामा संचालन, निःशुल्क गुणस्तरीय स्वास्थ्य, गाउपालिकामा जडीबुटी केन्द्र स्थापना, स्थानी स्तरमा उपलब्ध जडिबुटिको प्रसोधन, वडा नं ७ धाँचुगाउमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापनागरि थप जनशक्ति ब्यावस्थापन साथै हिमाको गौरबको रुपमा रहेको पिएचसिलाई विषशज्ञ सेवा प्रदान गर्ने लगायतका प्रतिबद्धता लगेर मतदातासँग मत मागेका छन । 

डोल्पा 

डोल्पाको ठुलीभेरी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै चुनाव चिन्ह पुतली प्राप्त गरेका स्वतन्त्र उम्मेदवार प्रेम बहादुर बोहोरा पनि चुनावी मैदानमा छन् । पछिल्लो समय युवाको रुचाएको र युवाको साथ पाएका उनी तन्नेरी युवाहरुको साथमा घर दैलो अभियानमा छन् ।

नगर समृद्धिको पाँच बर्षे खाका सहित चुनावमा होमिएको छु,आसा छ जनताले पार्टी विशेष नहेरेर हाम्रो भन्दा राम्रो उम्मेदवार छनोट गर्नुहुनेछ,’उनले भने । युवा नेता बोहोरा बर्षौदेखि समाजसेवामा सक्रिय छन ।

 उनी प्रशिद्व कोग्ले पुस्तकका लेखक समेत हुन । आफुले जितेको खण्डमा पाँच वर्षमा तीनसय ५० जना युवाहरुलाई वार्षिक न्युनतम  दुइलाख कमाई हुने रोजगारी सृजना गर्ने लगायतका नगर समृद्धिका पाँच वर्षे खाका तयार पारेका छन् । 

-न्युज कारखाना
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै