• २०८१ बैशाख १६ आइतबार

अभिनेता अजय देवगन र किच्चा सुदीपबीच भाषा बहस, के हो प्रकरण ?

kharibot

काठमाडौँ । भारतमा फिल्म उद्योगमा अहिले भाषाको विषयमा नयाँ विवाद शुरु भएको छ । खासगरी बलिवुड र साउथ इण्डियन फिल्म उद्योगका हस्तीहरु राष्ट्रिय भाषा हिन्दी हो वा होइन भन्नेमा सामाजिक सञ्जालमा बहसमा रहेका छन् ।

हालै पुष्पा, आरआरआर र केजीएफ-२ जस्ता फिल्मले हिन्दी भाषामा पाएको सफलतापछि बलिवुडका फिल्म निर्माताले दक्षिणका फिल्मको रिमेक फिल्म मात्र बनाउन थालेको र आफ्ना ओरिजिनल फिल्म नबनाएको आरोप लागिरहेका बेला यो बहस भएको छ ।  

पछिल्लो समय बलिउड फिल्म मेकरहरुले दक्षिण भारतका बिभिन्न भाषाका फिल्म डब गरेर वा रिमेक गरेर बनाइरहेको र सफल भैरहेको परिपेक्षमा यो बहस शुरु भएको छ ।  

कन्नड अभिनेता किच्चा सुदीपले हिन्दी भाषामा दिएको बयानबाट यो बहस शुरु भएको थियो । सुदीपले हिन्दी अब राष्ट्रिय भाषा नरहेको र बलिउडले प्यान इन्डिया फिल्म बनाउँदै आएको बताएका थिए । यसपछि अभिनेता अजय देवगनले ट्वीटरमा सुदीपको भनाइको जवाफ दिँदै हिन्दी भाषा राष्ट्र भाषा थियो, छ र रहिरहने टिप्पणी गरेका थिए । त्यसपछि मिडियादेखि सामाजिक सञ्जालमा यस विषय बहसमा रहेको छ । 

यस विवादमा फिल्म निर्माता रामगोपाल वर्माले भने- 'किच्चा सुदीप सर, यो सत्यलाई नकार्न सकिँदैन कि उत्तरी सुपरस्टारहरू दक्षिणका सुपरस्टारहरूको अगाडी असुरक्षित र ईर्ष्यालु महसुस गर्छन्, किनभने कन्नड डबिङ फिल्म केजीएफ-२ ले आफ्नो पहिलो दिन ५० करोडको कमाई गरेको थियो ।'

अजय देवगनले दिए सुदीपलाई जवाफ

अजय देवगनले ट्वीटरमा लेखे- 'किच्चा सुदीप मेरो भाइ, तपाईको अनुसार यदि हिन्दी हाम्रो राष्ट्रभाषा होइन भने तपाई आफ्नो मातृभाषाका चलचित्रलाई हिन्दीमा डब गरेर किन रिलिज गर्नुहुन्छ ? हिन्दी हाम्रो मातृभाषा र राष्ट्रभाषा थियो, छ र सदैव रहनेछ। जन गण मन ।'

सुदीपले अजयलाई दिए स्पष्टीकरण

अजय देवगनको जवाफमा टिप्पणी गर्दै सुदीपले लेखे- 'सर, मैले जुन सन्दर्भमा त्यो भनेको थिएँ, मलाई लाग्छ कि मेरो कुरा एकदमै फरक तरिकाले प्रस्तुत गरिएको छ । सायद म तपाइँलाई भेट्दा मात्र मेरो कुरा राम्रोसँग राख्न सक्छु । मैले कसैको भावनामा चोट पुर्‍याउने, कुनै विवाद उक्साउने वा बढावा दिन खोजेको होइन । म यस्तो किन गरुँ सर ।'

सुदीपले कमेन्टमा थप लेखेका छन्- ‘म आफ्नो देशको हरेक भाषाको सम्मान गर्छु । म यो विषयलाई थप पछ्याउन चाहन्न । म यो यहाँ समाप्त गर्न चाहन्छु । तपाइँलाई धेरै माया र तपाइँसँग छिट्टै भेट्ने आशा गर्छु ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय