काठमाडौँ । रुसले युक्रेन आक्रमण गरेपछि पछिल्लो ११ दिनदेखि भिषण लडाई भइरहेको छ ।
युक्रेनले अहिलेसम्म आफ्नो सेना र आम नागरिकको सहयोगमा रुसी सेनालाई अहिलेसम्म रोकेको छ । तर यस क्रममा १५ लाख भन्दा बढी युक्रेनीले देश छोडेर छिमेकी देशमा शरण लिन पुगेका छन् भने कैयौं युक्रेनी बन्दुक बोकेर देशको लागि लडिरहेका छन् ।
यसैबीच, युक्रेनको क्षेत्रीय रक्षा बलका एक जोडीले युक्रेनको राजधानी कीभको बाहिरी भागमा युद्धकै बिचमा विवाह गरेका छन् ।
भलेरी र लिसा नाम गरेका जोडीले एक सानो समारोहमा विवाह गरेका छन् । किभ पोष्टका अनुसार आर्मीको रक्षा दलले नै उनीहरुको विवाह गराइदिएको हो । सो क्रममा युक्रेनी सशस्त्र बलका अन्य सैनिक र किभका मेयर पनि उपस्थित रहेको किभ पोष्टले उल्लेख गरेको छ ।












