• २०८१ बैशाख २१ शुक्रबार

प्रदेश सरकार जगदुल्लामा लगानी गर्न तयार : टेष्ट अडिट टनेलको प्रगति शत प्रतिशत सम्पन्न

kharibot

जाजरकोट  । स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको प्रगतिबारे जानकारी लिँदै प्रदेश गौरवको आयोजना बनाउनका लागि प्रदेश सरकारले माग गरेको छ । कार्यविधिमा पाँच प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न पाउने भन्ने कार्यविधि समेत सच्याउन आग्रह गरिएको छ ।

प्रदेश सरकारले अधिकतम रूपमा लगानी गर्ने सोचमा रहेको भन्दै प्रदेश गौरवको आयोजना बनाइ त्यसमा बढी भन्दा बढी सेयर लगानी गर्न प्रदेश सरकार तयार भएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए । मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीको कार्यकक्षमा भएको छलफलमा यो कुरा उठेको हो ।

जगदुल्ला जलविद्युत आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटाले आयोजनाको प्रगति विवरण विवरण छलफलमा पेस गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुुर शाही, जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्ट र आयोजनाका प्रमुख सञ्जय सापकोटा बीचमा छलफल भएको थियो । 

आयोजनाको ट्रस्ट एडिट टनेलको काम समेत सम्पन्न भइसकेको छ ।  आयोजनाको विद्युत उत्पादन गृह इलमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति १०० प्रतिशत सम्पन्न भएपछि आयोजना निर्माण चरणमा अगाडि बढेको छ । 

 कुल ४०० मिटर लम्वाइ रहेको नुमना परिक्षण सुरुङमा ४०० मिटर खन्ने काम  सम्पन्न भएकोे हो । जाजरकोट-डोल्पा ( भेरी करिडोर ) सडक खण्ड अन्तर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका-१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाई  ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निर्मित कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए । 
 
आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरि मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर)को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको निर्मित कार्यकारी प्रमुख सापकोटाले बताए । 
  
आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघभित्र पेस गरि चैतभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिबेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । 

आयोजनाको विद्युत् उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुईवटा भवन निर्माण गरिएका छन । विद्युत् खरिद बिक्री तथा सम्झौताको कामसमेत भएको छ । वृत व्यवस्थापनका लागि बिभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना स्थलसम्म जान र आउनका लागि इल,निल दहमा पुल आयोजना आफैँले निर्माण गर्ने भएको छ । जाजरकोट-डोल्पा सडकखण्डको त्रिवणीबाट-इलसम्मको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम  गर्ने भनिए पनि ठेकेदारको ढिलासुस्तीले बल्ल काम सुरु भएको छ । 

वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँग मुख्य परामर्शदाता , ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाइ आउँदो आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको दाबी छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनौटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निर्मित कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै