• २०८१ बैशाख १४ शुक्रबार

परित्यक्तहरुप्रति संवेदना जगाउँदै ‘करुणा’

kharibot

रत्ननगर । ‘ओइ पागल ?’ सडकमा हिँडिरहेका एकजना मनोरोगीलाई एक महिलाले हेयभावले हकार्छिन् । ‘तँ पागल, सबै पागल, मर्छस् तिमीहरु, म मात्रै बाँच्छु, हा हा हा हा ।’ ती बेवारिसे मनोरोगीले भटभटाउँछन् । पछ्यौरी चोरेकाले मुखमा आएजति गाली गर्छिन् महिलाले । 

अर्की एक मनोरोगी किशोरी पनि सडकमा बेवारिसे अवस्थामा भेटिन्छिन् । उनी बोल्न जान्दिनन् । हाउभाउ लगाउँछिन् । उनी गर्भवती पनि छिन् । पुरुषसँग डराउँछिन् । स्थानीयवासीले चोरीको आरोपमा कुटेर लखेट्छन् । छि छि र दुर दुर गर्छन् । सडकमै बलात्कृत भएपछि गर्भ रहेकी उनलाई सुत्केरी बेथा लाग्छ । प्रसव पीडामा सडक मै छट्पटिन्छिन् । उद्धारमा गाउँलेको चासो जान्न । 

सडक सेवामा निस्किएका मानव सेवा आश्रमका अभियन्ताले देख्छन् र उनलाई उठाएर अस्पताल लैजान्छन् । यस्तै यस्तै दृश्य उनिएको सडक नाटक ‘करुणा’मार्फत अहिले मानवसेवा आश्रमले सडक सचेतना अभियान चलाएको छ । सडकमा हिँड्ने मनोरोगी, असहाय, मागेर समेत खान नसक्नेहरुको संरक्षणमा जुटौं भन्ने उद्देश्य बोकेर यो अभियान चलाइएको आश्रमले जनाएको छ । 

‘करुणा’ बाग्लुङ, गोरखा, काठमाडौ हुँदै अहिले चितवनमा प्रदर्शन भैरहेको छ । मुख्यतः नाटकमार्फत मानिसमा बेवारिसेप्रति दयाभाव र सकारात्मक सोच जागृत गराउने अभियान भएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ । 

दिनमै चार पाँच स्थानमा सडक नाटक, गीत र क्यारिकेचर प्रस्तुत गर्दै समाजका बेवारिसे र मनोरोगीहरुको उद्धार तथा संरक्षणका लागि सचेतना छर्दैछन् कलाकारहरु । नाटक हेर्न दर्शको घुइँचो हुन्छ । नाटक हेरेका दर्शकले कार्यक्रम स्थलमै आर्थिक सहयोग गर्ने गरेका छन् । 

दश दिनदेखि चितवनका चोकचोक, विद्यालय, महाविद्यालयहरुमा ‘करुणा’ नाटक प्रदर्शन भैरहेको छ । ‘साह्रै राम्रो नाटक, चेतनाले भरिएको,’ भरतपुर १४ का गुणराज पाठकले भन्नुभयो, ‘गाउँगाउँमा देखाउनुपर्यो ।’ उहाँसँगै अर्का दर्शक माधव घिमिरेले पनि नाटकको प्रशंसा गर्नुभयो । 

‘यस्तो चेतना भित्री शहरमा पनि दिनुपर्यो,’ घिमिरेले भन्नुभयो, ‘ल बहिनी कहिले आउने हाम्रो गाउँ ।’ मानवसेवा आश्रम चितवनकी संयोजक रुपा केसीले छिटै आउने बाचा गर्नुभयो । 

अझै पनि सडकमा पुगेका मनोरोगीेहरुप्रति समाजले राख्ने दृष्टिकोणमा ठूलो परिवर्तन आउन सकेको छैन । त्यसैले सचेतना फैलाउन जिल्ला जिल्लामा सडक नाटक लिएर हिंडेको केसीले बताउनुभयो । 

हाल काठमाडौँ, हेटौँडा, चितवन, गोरखा, बाग्लुङ, लमजुङ भक्तपुर, ललितपुर लगायत जिल्लामा यस्ता सडकका बेवारिसेहरुलाई उद्धार गर्ने, पालनपोषण र औषधोपचार गर्ने र ठिक भएपछि परिवारमा मिलन गराउने काम आश्रमले गर्दैआएको छ । 

यसरी सडकमा पुगेकाहरुको हेरचाह होस् र उनीहरुलाई बेलैमा उद्धार गरी जीवन फेरिदेऔँ भन्ने अभियानको उद्देश्य हो । प्रसव पीडामा रहेकी मनोरोगीको भूमिकामा प्रस्तुत हुनुभएकी मनिषा केसी सामाजिक सचेतना दिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुहुन्छ । 

भुवनसिंह परियारको लेखन र निर्देशन रहेको ‘करुणा’मा अर्का मनोरोगीको भूमिकामा कलाकार मुन्ना सर्राफ हुनुहुन्छ । अन्य कलाकारमा परियारसँगै गंगा नेपाली, संजिता गौतम र सुजाता बर्तौला हुनुहुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै