सुर्खेत । नेकपा एमालेले प्रदेश नम्बर ६ मा आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताएको छ ।
सोमबार विरेन्द्रनगरमा सम्पन्न संसदीय दलको पहिलो बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि एकता संयोजन समितिसँग माग निर्णय गरेको हो । प्रदेश नम्बर ६ को प्रदेश सरकार गठनका लागि आवश्यक मत आफूहरुसँग भएको भन्दै एमालेले मुख्यमन्त्रीको लालि दावी गरेको हो ।
प्रदेश संसदमा आफ्नो ५० प्रतिशत सिट रहेको र आफू एक्लै पनि सरकार गठन गर्न सक्ने आधार भएकोले नेतृत्व दावी गर्ने र केन्द्रमा ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ ।
प्रदेश नम्बर ६ मा कुल ४० प्रदेश सांसद रहेका छन् । जसमा प्रत्यक्ष तर्फ २४ र समानुपातिक तर्फ १६ सांसद रहेका छन् । यस प्रदेशमा एमालेले प्रत्यक्षमा १४ र समानुपातिकतर्फ ६ गरी कुल २० सिट जितेको छ भने, माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी कुल १३ सिट जितेको छ ।