• २०८१ बैशाख १४ शुक्रबार

साँच्चै ! ती बाबुआमा यी साना छोराछोरीको भरभरोसामै बाँचिरहेका हुन् त ?  

kharibot

काठमाडौं । रत्नपार्क एउटा यस्तो ठाउँ हो, जहाँ हरेक ठाउँ जाने बस लाग्छ ।

अझ भनौँ बसपार्क नयाँ मान्छे पठाउने र नयाँ मान्छे ल्याउने स्थान हो । अझ यसो भनौँ मान्छेको यात्राको मझेरी हो जहाँ नटेकी मानिसहरु घुम्ने, रमाउने र आउने ठाउँमा पुग्नै सक्दैनन् ! बसपार्क भीडभाड हुने र व्यापार व्यवसाय गर्ने ठाउँ पनि हो । अझ थपौँ रत्नपार्क एउटा माग्ने नै माग्नेले भरिएको ठाउँ पनि हो ।

माग्ने ? सर्र्र्....री । सायद, शब्द सुन्दै तपाईंलाई क्षुद्र अनुभूति भयो होला । यसो भनौँ न त ! केही कुरा पाइन्छ कि भनेर मानिसको भीड लाग्ने समूहमा बसेर केही वस्तुको अरुबाट आशा गर्ने मानिसहरुको त्यो झुण्ड देख्दा सबैलाई लाग्न सक्छ — रत्नपार्क माग्ने नै माग्ने (ओ, सरी)ले भरिएको ठाउँ हो र त्यहाँ माग्ने मान्छे मात्र छन् ! 

एउटा १०/१२ वर्षको जस्तो देखिने बच्चा, जसको देब्रे हात छैन । कुमदेखि नै उसको हात काटिएको छ । उसको अघि पैसाले भरिएको सानो एउटा बाटा छ । हात थाप्दै उसले अरुसँग सहयोग मागिरहेको छ । दुई÷चार पैसा सबैले सकेको सहयोग पनि गरिरहेका छन् । तर कसैले वास्ता गरेका छैनन् ।

रत्नपार्कका धेरै माग्नेहरुमध्ये यी बालक एक प्रतिनिधि पात्र जस्तो देखिन्छन् । सधैँ धेरै रत्नपार्कमा सहयोग पाउन बसेको त्यो बालकको बारेमा कसैले वास्ता गर्दैनन् । पैसा दिनु वास्ता  होइन ? तपाईंलाई यही नै वास्ता हो तर वास्तवमा त्यो वास्ता होइन, मानिसहरुले अगाडि आइपरेका झिँजो दुई÷चार पैसा फ्याँकेर पन्छाएका मात्र हुन् । 

सबैलाई आफ्नै चटारो र ख्याल हुने यो सहरमा यी बालकलाई पनि आफ्नै ध्याउन्न छ । आफ्नो घर सर्लाही रहेको बताउने त्यो बालक आफूले दिनभरि मागेर जम्मा गरेको पैसाले बूढा बाबुआमा, पाँच साना भाईबैनी र आफुलाई समेत खर्चको जोहो गर्न लागी परेको बताउँछन् । 

सानै उमेरमा सर्लाहीको उखु पेल्ने मेसिनले हात काटेको थियो रामजान शाहीको । विगत लामो समयदेखि मागेर नै आफू र आफ्नो परिवारको जीवन धानेको उनी बताउँछन् । पढ्ने, लेख्ने, खेल्ने अनि रमाउने उमेरमा पारिवारिक भार थाम्नुपर्ने शाहीजस्ता बालबालिकाको दर्दनाक अवस्थाको बारेमा कसले ख्याल गर्ने ? के साँच्चै ती बाबुआमा यी साना बालबालिकाको भरभरोसामा नै बाँचिरहेका छन् त ? 

यो प्रश्न एकाएक उब्जियो ।

१२/१३ वर्षका शाही आँखाभरि अाँशु पार्दै भन्छन्, ‘आफु माग्ने काम नगरे, पैसा नकमाए बाबुआमा भोकै मर्नुहुन्छ ।’ संगैका साथीहरु स्कुल जाँदा आाफु पनि पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ रे उनलाई !

तर जब उनी आफ्नो भार सम्झिन्छन्, उनलाई आफू अब पढ्छु भन्ने नै लाग्दैन उनलाई । बिहानदेखि साँझसम्म रत्नपार्कमा बसेर पैसा जम्मा गर्छन् र साँझ घर फर्किन्छन् । कुनै जागिरेको जिन्दगीभन्दा कम छैन उनको जीवन ।  

साँच्चै साना उमेरका रामजान शाही हाम्रो समाजका एक प्रतिनिधि पात्र हुन् । यस्ता धेरै बालबालिका भेटिन्छन् रत्नपार्कमा । कचौरा लिएर अरुले थोरै सहयोग गर्छन् भन्ने आशामा ।
स्थानीय के भन्छन् !

रत्नपार्कमा व्यवसाय गरेर बसेका केही व्यापारीहरु सडकमा कचौरा लिएर बस्ने बालबालिकाहरु अरु कसैको भरमा पैसा बटुलेर बसेको बताउँछन् ।

रामजान शाहीकै बारेमा कुरा गर्दा स्थानीय एक महिलाले भनिन्, ‘उसले संकलन गरेको पैसा अरु कसैले लिन्छ, पैसा संकलनको लागि एउटा ग्याङ्ग नै समावेश छ यहाँ ।’ यदि बालबालिकालाई प्रयोग गरेर पैसा संकलन गर्ने काम भएको छ भने त्यसको बारेमा आवाज उठाउने र साना बालबालिकालाई न्याय दिने काम कसले गर्छ ? 

साँच्चै, बाबुआमा ती साना छोराछोरीको कमाइको आशामा बाँचिरहेका छन् ? यो प्रश्नको उत्तर पाएको छैन । यसको बारेमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । नजिकै रहेको काठमाडौँ महानगरको पनि यस विषयमा ध्यान जानु पर्छ कि ? 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै