नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले वैदेशिक रोजगारीमा पठाउने भनी युवाहरुलाई टर्की पुर्याई अलपत्र पार्ने तीन जनालाई पक्राउ गरेको छ ।
सीआईबीले आकर्षक तलबको प्रलोभनमा पैसा असुली युरोपमा अलपत्र पारेको भन्द्र स्याङ्जाका दुई र झापाका एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा स्याङ्जा घर भई पोखरा बस्ने प्रविन गिरी र डिल्लीराम गिरी तथा झापा गौरादह ४ का ज्ञानेन्द्र अधिकारी रहेका छन् ।
उनीहरुलाई सोमबार र मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरिएको हो । उनीहरुले राहदानीमा नक्कली भिसा लगाई प्रतिव्यक्ति साढे ८ लाख रुपैयाँ लिएर टर्की पुर्याई अलपत्र पारेका थिए ।
टर्कीमा दुई महिनासम्म श्रमशोषण भोगेपछि सीआईबीमा पीडितहरुले उजुरी गरेका थिए ।
तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।