वीरगञ्ज । पर्सा राष्ट्र निकुञ्जभित्र रहेको दुर्लभ वन्यजन्तुको सुरक्षामा चुनौती थपिएपछि निकुञ्ज प्रशासनले निकुञ्जभित्र सिसी टिभी र पोचर क्यामेरा जडान गरेको छ ।
बाराको पथलैयादेखि अमलेखगञ्जसम्म निकुञ्जको बीच बाटो भएर राजमार्गतर्फ गएकाले त्यहाँ जनावर आवत–जावत गरेकाले वनजन्तुलाई सवारीसाधनले ठोक्ने, गैरकानुनी चोरी–सिकारी जस्ता क्रियाकलापको निगरानी गर्न त्यस क्षेत्रमा तीनवटा सिसी टिभी क्यामेरा जडान गरेको छ ।
यसैगरी निकुञ्जभित्र हुने दुर्लभ जनावरको चोरी–शिकारीलाई नियन्त्रण गर्नका लागि ११ वटा पोचर क्यामेरा गोप्यरुपमा निकुञ्जभित्र जडान गरिएको प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले बताए ।
निकुञ्जभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पहिचान भएका बाघ, हात्ती, गैँडालगायतका दुर्लभ वन्यजन्तु रहेकाले यसको सुरक्षाका लागि सो क्यामेरा जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
६२७ वर्ग किलोमिटरमा फैलिएको सो निकुञ्जभित्र १२० जंगली हात्ती, एक हजार ८४३ जरायो, १० पाटेबाघ, लोप हुन लागेको काँडेभ्याकुर, सारस, अजिंगर, ३०० प्रकारको पशुपक्षीलगायतका दुर्लभ वन्यजन्तु रहेका छन् ।
पर्सा राष्ट्रि«य निकुञ्ज नेपालमा रैथाने प्रजातिका हात्ती, पाटेबाघ, चित्तल, मृग, जरायोलगायतका जनावरका लागि नेपालमै एउटा उत्कृष्ट निकुञ्जका रुपमा विकसित हुन थालेकाले निकुञ्जभित्र मानव गतिविधिलाई रोक्न क्यामेरा जडान गरिएको हो ।