• २०८१ बैशाख १५ शनिबार

नारी देह र पुरुष मोह

kharibot

स्त्री पुरुष मिलन, समागम वा सम्वन्ध सम्भवतः सबैभन्दा बढी चिन्तन, चर्चा  र चियो गरिएको विषय हो ।  स्त्रीसुखको लागि पुरुष याचक बन्छ । करोड पति पनि भिखारी देखिन्छ , भिखारी पनि याचक हुन्छ, राजा पनि स्त्रीको सौन्दर्य र समागमको लागि राजपाठ भुल्छ, महाभारत भनौँ वा रामायण, हरेक कथा र घटनाका मूल पात्र नारी हुन्छिन् । नारी देहको लागि याचक बनेका महापुरुषहरु इतिहास देखि हाल पर्यन्त प्रशस्त छन् । 

सौर्य र बीरताको पर्याय बनेको पुरुष, स्त्री मिलनको सवालमा एकदमै कमजोर बन्न पुग्छ । राजा शुम्भको दूत भएर देवीको अगाडि गएको निशुम्भ भन्छ “हे देवी ! हाम्रा राजा शुम्भ, कोही कसैसँग पराजय व्यहोर्दैनन् । पराजय व्यहोर्ने स्त्रीसँग हो । त्यो पनि शयन कक्षमा, तिमी हाम्रा राजा शुम्भलाई स्वीकार गर, उनकी रानी होऊ, त्यसपछि शयन कक्षमा तिमी राजा शुम्भलाई पराजित गरौली, हे देवी ! कोमल अंग युद्धका लागि होइन, तिमी युद्ध गर्ने जिद्दी नगर ।”   देवी भन्छिन् “ होला, तिम्रा दाजु राजा शुम्भ महा पराक्रमी होलान्, विश्व विजेता बनेका होलान्, मलाई पनि जित्लान्, तर के गर्नू, मैले मेरो अहंकारका कारण पहिले नै प्रतिज्ञा गरेकी छु, जसले मलाई जित्छ, म उसैको हुनेछु । मेरो प्रतिज्ञाको कारण पनि राजा शुम्भ मलाई चाहन्छन् भने युद्ध गर्नै पर्दछ, मलाई जित्नै पर्दछ ।” यस्तो सम्वाद भएपछि देवीको शुम्भ निशुम्भसँग युद्ध हुन्छ, देवीले युद्ध जित्दछिन् । धेरै पुरानो श्रीमद्देवीभागवत् कथाले त्यसै भन्छ । 

सृष्टि प्रक्रिया चल्न स्त्री पुरुषको मिलन आवश्यक छ । सृष्टिका हरेक प्राणीहरुको बीचमा समागम हुने गर्छ, तर त्यो निश्चित छ, समागमको लागि याचक पुरुष (नर) नै  बन्नु पर्ने विधान छैन । तर मानिस (नर) को सवालमा सधै याचक पुरुष बन्दछ । यस बारेमा दर्शनशास्त्रीहरुको विभिन्न मत हुन सक्छन् । दर्शनशास्त्रीहरुको मत बारे यो लेखमा चर्चा गरिने छैन । तर के उल्लेख नगरीरहन सकिन्न भने, हरेक प्राणीको समागमको निश्चित काल हुन्छ,  निश्चित ऋतुकालमा नै हरेक प्राणीले समागम गर्छन् । मानिस मात्र यस्तो जीव हो जसलाई समागमको लागि कुनै काल कुर्नु पर्दैन । स्त्रीहरुको ऋतुकाल हुन्छ, महिनावारी चक्र चल्छ, तर पुरुष ? पुरुष समागमको लागि हरक्षण लालायित छ, कल्पिईरहेको छ । सपना, विपना, जपना, रटना स्त्री, स्त्री अनि स्त्री । 

रामानन्दीय सम्प्रदायका गुरु एवं रामचरित मानसका लेखक तुलसी दास, घरमा आउँदा पत्नी माइत गएको थाहा पाएर, पत्नी भेट्न ससुराली पुग्दा मध्यरातमा नारीदेह सम्झदै कोठामा आइपुगेको पतिलाई भन्छिन “नारी देह प्रतिको तिम्रो आकर्षण र याचना यदि श्रीरामका चरण कमलमा भइदिएको भए तिम्रो डुंगा पार हुने थियो । ” पत्नीको यही वाक्यांसबाट हुलसीका छोरा तुलसी रामभक्त तुलसी अर्थात गोस्वामी तुलसी भएको इतिहास ५ सय वर्ष पुगेको छैन । 

पतिपत्नीबीच हुने अधिकांश झगडा समागमकै विषयलाई लिएर हुने गर्दछ । भौतिकताले ग्रस्त समाजमा देखिएका सम्वन्धविच्छेदका घटना ९५ प्रतिशत भन्दा बढी समागममा सन्तुष्टि नभएको, पर पुरुष वा परस्त्रीसँग सम्वन्ध बढेको कारण घरमा झै झगडा हुने गरेको, अर्को पुरुष वा अर्को स्त्रीसँग घर बाहिर मिलन भएकै कारण घरमा द्वेष बढेको हो भन्ने दुवै स्त्री पुरुषको  आशंका आदिबाट शारीरिक र मानसिक यातना हुँदै सम्वन्धविच्छेदसम्म आउनु परेको घटना, इतिवृतान्त बताउँदै आएका छन् ।

याचक पुरुषको मालिक स्त्रीसँग गुनासो छ, “समागममा वेवास्था गर्छिन् । म प्रति उनको कुनै प्रेम छैन र आकर्षण घटेको छ । शायद अर्को प्रेमी भएको कारण यस्तो भएको हुनु पर्छ ।” मालिक  स्त्रीको याचक पुरुषसँग  गुनासो छ, “पुरुष मिलन सम्झदै रात नपरे हुन्थ्यो जस्तो लाग्छ । बाघले बाख्रालाई के त्यसरी झम्टन्थ्यो होला, मलाई त्यो पुरुषले त्यसरी झम्टन्छ । मेरो शारीरिक र मानसिक स्वास्थ्यको त्यो पुरुष भन्ने अवतारलाई रत्तिभर पनि चिन्ता छैन । जाँड खाएर तथानाम गाली गर्छ ।  त्यसको प्रेम मात्र मेरो शरीरको लागि हो । अरे शारीरिक सम्वन्ध त मनको विषय हो नि, होइन र ? मन नै खुशी छैन भने कसरी मिलन हुन्छ र ? मलाई त त्यो पुरुष भन्ने अवतारको मुख जाँड नै नखाए पनि सारै गन्हाउँछ । जाँड खाएको छ भने त के कुरा गर्नु र ?  एउटै शयनकक्षमा सुत्दा पनि उसको जीउले छोयो भने एलर्जी जस्तो फोका उठ्छ । त्यो पुरुषले छोएको ठाउँमा पोलीरहन्छ । अनि कसरी मिलन हुन्छ होला त हाम्रो ।”

स्त्रीको यौनिक सम्वन्धले पुरुषको आधा सम्पत्तिमा आधिपत्य जमाउँछ । सामाजिक संस्कारको रुपमा वा दर्ता विवाहको रुपमा गरिने विवाह सम्वन्धले पतिको अर्धाङ्गिनी एवं पतिको सम्पत्तिको समान हकदार कायम गरिने कानुनी तथा सामाजिक व्यवस्था छ । जवर्जस्ती करणीको महलमा भएको दण्ड जरिवाना सम्वन्धी व्यवस्थाले  विवाहको रुपमा नस्वीकारे पनि कारणीबाट जरिवाना भराईदिने व्यवस्थाले यौनिक सम्वन्ध स्वेच्छिक वा गैरस्वेच्छिक जे भए पनि गम्भीर रुपमा लिइन्छ र स्त्रीलाई त्यसको क्षतिपूर्ति भराइन्छ । स्त्रीको स्वेच्छा विना गरिएको सम्वन्ध दण्डनीय मानिन्छ र दोषिलाई कैद तथा जरिवाना भराइन्छ । आधुनिक समयमा कानुनद्वारा व्यवस्थित गरिने प्रयास गरिएको यौनिक सम्वन्ध प्राचीन समयमा विभिन्न धार्मिक ग्रन्थको आधारमा व्यवस्थित गरिन्थ्यो । 

जन्म निरोधका साधनहरुको आविष्कार नभएको अवस्थामा यौन याचनाको विषय हुनु स्वभाविक पनि हो, किनकी स्त्रीले अनिच्छित गर्भधारण गर्नु पर्ने, त्यो पनि थोरै हो र ? नौ÷नौ महिना,  स्त्रीको शरीर गर्भधारणका कारण कमजोर बन्ने, स्त्रीको सौदर्यमा परिवर्तन आउने, प्रशव पिडा भोग्नु पर्ने आदि कारणले स्त्रीलाई यौनको मालिक र पुरुषलाई याचक मानिनु स्वभाविक पनि हुन्थ्यो । स्त्रीले प्राप्त गर्ने प्रणय सुख भन्दा उनले भोग्नुपर्ने गर्भधारण र प्रशव पीडा कयौँ गुणा जटिल भएका कारण महिलालाई मालिक बनाएको यथार्थ स्वीकार गर्नेहरु गर्भ निरोधका साधनहरुको पर्याप्त उपलब्धता हुँदा समेत दुवैथरी स्त्री र पुरुषलाई प्राप्त हुने प्रणय आनन्दमा स्त्रीलाई शोषित र पुरुषलाई शोषकको भूमिका दिईएकोमा न्याय संगत छैन, यसलाई भिन्नै रुपमा व्याख्या गरिनु पर्छ भन्ने दृष्टिकोण राख्नेहरु पनि वर्तमान समयमा देखा परेका छन् ।   

धर्म, समाज र कानुनले स्त्रीको शरीर माथिको अधिकारलाई महत्व दिएकै कारण कुनै स्त्रीले  कुनै पुरुषलाई आरोपित गरिँदा पुरुषलाई समाजिक आँखाले निर्दोष देख्न सक्दैन, स्त्री आफ्नो सतित्वको विषयलाई लिएर झुटो बोल्दिनन् भन्ने सामाजिक मान्यताका कारण नै स्त्रीले आरोप गरिएको व्यक्ति प्रथम दृष्टि मै दोषि देखिने हाम्रो समाज हो ।  

आजसम्म कुनै स्त्रीले कुनै पुरुषलाई आरोपित नगरेकै कारण एउटा पुरुष समाजमा सन्मानित पुरुष भएर बाँच्न सकेको हो । द्वापर युगमा घटेको महाभारतमा द्रौपदीले आफ्नो अपमानको बदला लिन वर्षौ कुर्नु परेको थियो । अन्तमा विजय द्रौपदीको भएको थियो । महाभारत युद्धको मुख्य पात्र नै द्रौपदी थिइन, तर आज कुनै स्त्री वदला लिनु पर्यो भने वर्षौ कुर्न पर्दैन, उनले तत्काल न्याय प्राप्त गर्न सक्छिन्, विजय प्राप्त गर्न सक्छिन् । कुनै स्त्री कुनै पुरुषका पछाडि लोक लाज छाडेर उभिइन् भने त त्यो पुरुषको अधपतन सुरु भयो ।

उसले निर्दोषीताको सफाई लामो अदालती प्रक्रिया पछि प्राप्त गर्ला तर सामाजले त्यो पुरुषलाई निर्दोष नै थियो कि भनी हेर्न सक्ने अवस्था छैन ।  हामीले अभ्यास गरेको कानुनी तथा सामाजिक व्यवस्थाले स्त्रीद्वारा आरोपित कुनै पुरुष सन्मानित भइरहन सक्ने कल्पना गर्न सकिँदैन । तर हामीले गर्व गर्न लायक यथार्थ के छ भने अझै पनि स्त्रीले आफ्नो धर्म निर्वाह गरेका छन् र निर्दोषलाई आरोपित गरिरहेका छैनन् ।

 (लेखक अधिवक्ता तथा परामर्शदाता हुन् )

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै