• २०८१ बैशाख १४ शुक्रबार

लामबद्ध भएर गाडी चढ्ने अभियान लम्ब्याउन ट्राफिक प्रहरीलाई दबाब 

kharibot

काठमाडौैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अहिले काठमाडांै उपत्यकामा ‘लामबद्ध भएर सवारीसाधन चढौँ’ अभियान ल्याएको छ । पाँचदिने अभियानको तीन दिन सकिँदासम्म यसले सबैको प्रशंसा बटुलेको छ । 

शान्त र अनुशासित भएर यात्रुहरुले गाडी चढ्न पाएकै कारण पाँच दिने परीक्षण अभियानलाई निरन्तरता दिन यात्रुहरुबाट ट्राफिक प्रहरीमाथि दबाब आएको हो । काठमाडौँ उपत्यकाभित्र चल्ने सवारीसाधन चढ्न ठूलै संघर्ष गर्नुपर्ने र तँछाडमछाड धेरै हुने गरेकोमा ट्राफिक प्रहरीले चलाएको यो अभियानबाट यात्रुहरुले ठूलै राहत महसुस गरेका छन् । सोही कारण यसको प्रशंसा भएको हो ।

गत २ गतेबाट ७ गतेसम्म परीक्षणका लागि ल्याएको यो अभियानको ट्राफिक प्रहरीले प्रभावकारिता मूल्यांकन गरेर अघि बढ्ने जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले गत आइतबारबाट उपत्यकाका न्युरोड, रत्नपार्क, चाबहिल, महाराजगञ्ज, कालीमाटी, कलंकी, जाउलाखेल, कुपन्डोल, कोटेश्वर र भक्तपुर गरी दश स्थानमा लामबद्ध भएर यातायातका साधनमा चढ्ने अभियान चलाएको हो । 

प्रहरी नायब उपरीक्षक डम्बर बहादुर बिकले भने, ‘लाइनमा बसेर सवारीसाधन चढ्ने अभियानमा सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् । ७ गतेसम्म हेर्छौँ, त्यसपछि कस्तो कदम चाल्नुपर्ने हो, हामी लाइनमा बस्ने संस्कार सिकाएरै छाड्छौँ ।’ उनले यातायात व्यवसायी, यात्रु, महानगरपालिका, बौद्धिक वर्गसँग समेत बसेर छलफल गरी अगाडि बढ्ने खरीबोटलाई जानकारी दिए । प्रहरीको यस अभियानबाट खासगरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, असहायहरुलाई सार्वजनीक यातायातमा चढ्न निकै सजिलो भएको छ । विशेष गरी प्राइम टाइम बिहान ९ बजेदेखि ११ बजे र साँझ ५ बजेदेखि ७ बजेसम्म लाइनमा बसेर सवारी चढ्ने अभियानलाई तीव्रता दिइरहेको उपरीक्षक बिकले जानकारी दिए । 

ट्राफिक प्रहरीले लाइनमा बसेर सवारी चढ्ने अभियानले आम नागरिकलाई सहज हुनुको साथै राम्रो कामको थालनी भएको रत्नपार्कमा माइक्रो चढ्नलागेकी यात्रु संगीता गौतमको भनाइ छ । अर्का एक वृद्ध ट्राफिक प्रहरीले ल्याएको यो अभियानले असहाय तथा वृद्धहरुको लागि ठूलो सहयोग पुगेको बताउँदै अभियानलाई निरन्तरता दिनुपर्ने बताउँछन् । 

ट्राफिक प्रहरीले ल्याएको लाइनमा बसेर सवारीसाधन चढ्ने अभियानमा सहभागिता जनाउँदै आएका बालाजु मिनीबस व्यवसायी समितिका अध्यक्ष मीन बहादुर मानन्धरले भने, ‘यो अभियान सुरु गरेर एउटा सिस्टम बसाउने काम एकदमै राम्रो भएको छ र हामी यो अभियानलाई सफल बनाउन लागिपरेका छौँ ।’ उनले लामो समयसम्म गाडी रोकेर राख्ने प्रचलन हटाउनको लागि यातायात व्यवसायीहरुसँग छलफल गरेर यात्रु चढाउने र ओराल्ने मात्र गर्नुपर्ने नियम समेत बनाउने जानकारी दिए । 

यस्तै ट्राफिक प्रहरीले लाइनमा बसेर सवारी चढ्ने अभियानलाई विभिन्न स्कुलका विद्यार्थी, यातायात व्यवसायी, नेपाल स्काउटलगायतले सहयोग गर्दै आइरहेका छन् । ट्राफिक प्रहरीले सुरु गरेको मापसे (मादक पदार्थ सेवन) गरेर सवारीसाधन चलाउन नपाइने, जेब्रा क्रसिङबाट बाटो काट्न लगाउने लगायतका अभियान सफल भएकाले लाममा बसेर सवारीसाधन चढ्ने अभियान सफल हुने अध्यक्ष लामाले बताए । सबैबाट सकारात्मक प्रतिक्रिया आएकाले लाइनमा बसेर सवारी चढ्ने अभियान सफल हुने सबैको विश्वास छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै