• २०८१ बैशाख १५ शनिबार

साउदी अरबमा हट्यो ३० वर्षदेखि लाग्दै आएको फिल्ममाथिको प्रतिबन्ध

kharibot

रियाद । साउदी अरेबियाले दशकौँदेखि व्यावसायिक सिनेमामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । करिब ३० वर्षको प्रतिबन्ध फुकुवासँगै आगामी २०१८ को सुरुदेखि नै सिनेमा चल्न दिने भएको हो । 

त्यहाँको संस्कृति तथा सूचना मन्त्रालयले यसका लागि अनुमतिपत्र दिने तयारी गरेको छ । आगामी मार्चदेखि साउदी अरबमा पुनः फिल्मी घर सञ्चालनमा आउनेछ । विशेषगरी अहिलेका राज उत्तरअधिकारी मोहम्मद बिन सल्मानको भिजन २०३० अन्तर्गतको सामाजिक एवं आर्थिक सशक्तीकरण कार्यक्रमअनुसार सिनेमामाथिको प्रतिबन्ध हटाउन लागिएको हो ।

यसअघि सन् १९७० मा मुस्लिम राजतन्त्रात्मक साउदीमा फिल्म चल्थ्यो । तर शासन चल्नेक्रममा राजपरिवारले मुस्लिम कानुन लागू गरेपछि फिल्ममाथि प्रतिबन्ध लागेको थियो । 

साउदीले प्रमुखताका साथ कार्यान्वयन गर्नलागेको यो कार्यक्रमपछि सन् २०३० सम्ममा दुई हजार सिनेमा स्क्रिन बनाउने लक्ष्य लिएको छ । गत सेप्टेम्बरमा मात्रै साउदीमा महिलालाई गाडी चलाउन लगाइँदै आएको प्रतिबन्ध हटाइएको थियो ।

यद्यपि महिलाले आगामी वर्षको जुनबाट मात्रै गाडी हाँक्न पाउनेछन् । नयाँ राजकुमारको महत्वाकांक्षा साउदीमा सबै धर्मका मानिस बस्नसक्ने अवस्था सिर्जना गर्ने रहेको बताइएको छ ।

साउदीमा  अहिलेसम्म निकै कडा मुस्लिम कानुन रहेकोमा अब भने मानवअधिकार र स्वतन्त्रताको पक्षमा हिँड्नलागेको मानिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय