• २०८१ बैशाख १७ सोमबार

जब म छोराको आँखा हेर्छु, मलाई बलात्कार गर्ने मान्छे देख्छु !

kharibot

क्याथरिन (नाम परिवर्तन) आफ्नै साथीबाट बलात्कृत भएपछि गर्भवती हुनपुगिन् । उनले गर्भवती प्रेग्नेन्ट (दुई जिउकी) भएको थाहा पाएर पनि एबोर्सन (बच्चा फाल्ने) नगर्ने निर्णय लिइन् र उसलाई जन्म दिइन् । उनको लागि सबैभन्दा कठिनतम कुरा भनेको उनको छोराको आँखा हेर्नु हो । किन यस्तो ? यस्तो छ क्याथरिनको दर्दनाक व्यथा —

म दुई बच्चाबच्चीसँगको एउटा परिवार थिएँ । मलाई उसको बारेमा थाहा थियो । दुई वर्षदेखि हामी एक अर्कामा साथी बनेका थियाँै । हामी साथीको साथीका रुपमा परस्पर मित्रता गाँस्न पुगेका थियौँ । हामी दुईबीच अन्य कुनै सम्बन्ध थिएन, केवल एउटा सामान्य मित्रताबाहेक ।

म ऊसँग केही खुल्ला थिएँ । तर म कुनै सम्बन्धको लागि भौतारिइराखेको भने थिइनँ । म आफैँबाट मात्र शासित हुन चाहन्थेँ । म मित्रता गाँस्दा खुसी नै थिएँ ।  
म उसको घरमा थिएँ । यो यति छिटो भयो कि एउटा स्विच किटिक्क थिचेजस्तै । एकदमै छिटो ।

मैले ऊ मेरो नजिक आइरहेको पाएँ र मलाई यो सब ठीक लागिरहेको थिएन । त्यसकारण म केही टाढिन खोजेँ । उसलाई केही धकेल्न खोजेँ । तर यो एकदमै छिटो भइरहेको थियो र ज्यादै दबाब परिरहेको थियो ।

यो एकदमै शक्तिशाली थियो, जसका कारण म जमेँ । मैले साँच्चै कुनै प्रतिवाद नै गर्न सकिनँ । ऊसँग प्रतिवाद गर्ने प्रयास सम्भव नै भएन, किनकि म जमेको थिएँ एकढिक्का ।

साँच्चै भन्नुपर्दा उसले केही पनि भनेन । एकछिनमै ऊ त्यहाँबाट बाहिर गयो । उसले आफ्नो घर छोडेर आफ्नो कारमा गयो । मसँग कुनै कुरै गरेन ।  
म घर गएँ । म घाइते भएको थिएँ । उक्त घटनाबारे मैले केही महसुस नै गर्न सकिनँ । अटो पाइलटजस्तै म आफ्नो घर गएँ । आफ्नो घर ।

यस्तो बेला मलाई लाग्छ यदि शारीरिक रुपमा तपाईं कतै जाने इच्छा गर्नुहुन्छ भने तपाईं जाने भनेको आफ्नै स्पेस (घर) हो जहाँ अपनत्व महसुस गर्न सकिन्छ ।
मैले त्यतिबेला आफ्ना बच्चाहरुलाई अर्को कोठामा बस्ने साथीसँग छोडेको थिएँ । जब म आफ्नो घर पुगेँ, घर रित्तै थियो ।

बच्चाहरु छिमेकीको कोठामा सुतिरहेका थिएँ । यसले मलाई केही रिलिफ (सहज) महसुस भयो । मैले कसैसँग पनि बोलिनँ । मलाई यस्तो लाग्यो कि अब मेरो मूल्यांकन हुनेछ र मानिसहरुले भन्नेछन् कि मैले नै आफूलाई उक्त स्थानमा पुर्याएकी थिएँ अथवा भन्नेछन् कि यो तिम्रै दोष हो ।

मैले सोचेँ किनभने म उसलाई चिन्दथेँ । यो सडकमा हिँडिरहेको अवस्थामा कसैले एक्कासि आक्रमण गरेर बलात्कार गरेजस्तो थिएन । त्यसकारण मैले प्रहरीमा पनि खबर गर्न आवश्यक ठानिनँ ।

अर्को दिन म उसलाई सोध्न चाहन्थेँ — किन यसो गरिस् ? तर उसले आफूमा पागलपन रहेको दाबी गर्नसक्थ्यो । तर उसले यसलाई इन्कार गर्न सकेन । उसले आफूलाई ब्ल्याकआउट भएको बताउँदै कुनै पनि कुरा सम्झिन नसक्ने बतायो । यद्यपि उसले कहिल्यै यसलाई असत्य भनेन ।

यसमा मैले कुनै प्रतिक्रिया जनाइन र मलाई केही जनाएको थाहा नै छैन । म त्यसपछि पनि सधैँजसो आफ्ना बच्चाहरुकै रेखदेखमा लागेँ ।

तर जब क्याथरिनले आफू प्रेग्नेन्ट भएको थाहा पाइन्, उनले बलात्कारीलाई भनिन् ....

मैले उसलाई भनेँ — म गर्भवती छु र यो तिम्रो बच्चा हो । मलाई उसले होइन, यो हुनै सक्दैन भन्छ होला भन्ने लागेको थियो तर उसले त्यसो भनेन । उसले प्रेग्नेन्ट भएको कुरा पत्याएन तर  उसले कहिल्यै यो मेरो बच्चा होइन भनेर अस्वीकार गरेन ।

मैले पनि बच्चा फाल्नेबारे सोच्दै सोचिन । तर मलाई यो एउटा विकल्प हो भन्नेचाहिँ थाहा थियो । यसो भन्दै गर्दा म एबोर्सनविरोधी पनि होइन । मलाई लाग्छ यो नितान्त व्यक्तिगत कुरा हो । तर व्यक्तिगत रुपले भन्नुपर्दा बच्चा फाल्दा यो झन् खराब स्थिति हुने महसुस गरेँ । यसले मलाई बाँच्न झन् गाह्रो बनाउनसक्थ्यो । त्यही भएर मैले बरु मसँग एउटा बच्चा थपिनु नै उचित हुने सोचेँ किनकि मसँग अरु दुई बच्चा पनि त थिए नै ।

बच्चाको भविष्यबारे नसोच्नु पनि त स्वार्थीपना हुनसक्थ्यो । तर बच्चा नफाल्नुलाई मैले नैतिकताको दृष्टिकोणबाट सोचेको भने थिइनँ । मैले त यदि मैले बच्चा फालेँ भने यसले झन् मलाई नै नोक्सान पुर्याउँछ र दैनन्दिन जीवनमा झन् बढी असर पुर्याउँछ । मलाई यस्तै लाग्यो ।

मसँग वरपर मेरो कुनै परिवार थिएन । वरपरका मानिसहरु कुरा काट्ने भइसकेका थिए । किनकि मेरो पेटको आकार बढिरहेको थियो तर मचाहिँ अविवाहित नै थिएँ । यति हुँदा पनि मैले म किन प्रेग्नेन्ट भएँ भनेर कसैसँग केही बताएको थिइनँ ।

मानिसहरुले मलाई हेरिरहेका छन् भनेर पनि मैले नोटिस गरिनँ । तर मेरो पछाडि कुरा काट्नेहरुको कमी थिएन । झन् मेरो पल्लो कोठामा बस्ने त आफ्नै साथी पनि थियो । र पनि मैले आफू बलात्कृत भएको भनिनँ ।

मैले मेरा बच्चाहरुबारे कसैले प्रि–जज गरेको पनि कहिल्यै चाहिनँ । किनभने यी सब कुरामा उनीहरु टाढै रहून् भन्ने चाहन्थेँ । यदि मानिसहरुले यो कुरा थाहा पाए भने बच्चाहरुलाई पनि भन्न सक्थे ।  मुख्य कुरा के हो भने मैले मेरो छोरालाई जहिल्यै जोगाइरहेँ । भएको भए पनि यो असह्य नै हुन्थ्यो । किनकि मेरो छोरा जसरी आए पनि मैले यसलाई सकारात्मक कुरातिर मोड्न सक्थेँ ।

तर जब मैले छोरा जन्माएँ, व्यक्तिगत रुपमा यो ज्यादै ठूलो मुद्दा थियो । किनकि उसको आँखा काटीकुटी उसको बाबुको जस्तै थियो । जब मैले पहिलोपटक उसको आँखा हेरेँ, मलाई वास्तविकताले हिर्काउने खालको थियो ।

जसै मेरो छोरो हुर्किँदै गयो, ती आँखाहरु उसका बाबुसमान हुँदै गए । र बलात्कारको बारेमा यहाँनेर सम्झिनैपर्ने कुरा के थियो भने, त्यो छोराको आँखा थियो । ऊसँग आकर्षित गर्ने तेजिलो आँखा थियो, जुन उसको बुबासँग थियो । एकदमै असाधारण ।  

म मेरो हात मुटुमा राखेर भन्नसक्छु कि बच्चाको जिम्मेवारी लिँदा मलाई नराम्रो त्यस्तो केही थिएन । सोच्दा पनि सोचिनँ । मैले आफूले आफैँलाई भन्नुपर्ने केही थियो भने त्यही आँखा थियो । मैले उसलाई एकदमै माया गरेँ, जबदेखि ऊ यो धरतीमा आइपुग्यो ।

उसले आफ्नो बुबाको बारेमा सोच्दैन । तर यो समय एकदिन त आउँछ । जुनचाहिँ मेरो लागि सबैभन्दा गह्रौँ चुनौती हो । यो आउने पनि स्थान हुन्छ, जुन स्कुल हो । जहाँ उसको बुबाको, परिवारको खोजी हुनेछ । जहिले उसको बुबाको तस्बिर खोजिनेछ र म त्यो सबका लागि अयोग्य हुनेछु । ती क्षण भनेका एकदमै कठिन समय हुन् ।   

मेरो छोराको संगत गर्नेहरुले केही नराम्रो नसोचून् भनेर मैले त्यस्तो केही होइन मात्र भनेको छु ।

क्याथरिन भन्छिन्, ‘बच्चा राख्दा कहिल्यै पछूतो भएन’

यो सब एकदमै चुनौतीपूर्ण हुँदो रहेछ । यस्तो अवस्थाको बच्चा स्वीकार्दा पनि प्रभाव पर्ने, अनि यस्तो अवस्थाबाट प्रेग्नेन्ट हुने अनि एबोर्सन गर्दा पनि यसले नराम्ररी प्रभाव पार्ने र यस्तो अवस्थामा बच्चा जन्माउँदा पनि जिन्दगीमा असर पर्ने । यस्तो कठिन घडीको सामना गर्नुपर्ने रहेछ ।

तर यो सबै आफ्नो र बच्चाको कुरा हो । बच्चा भएर पनि माया ममता दिन नसक्ने हो भने यो झन् गाह्रो हुन जान्छ । वास्तविकता र महत्वपूर्ण कुरा मेरो पर्सपेक्टिभबाट भन्ने हो भने ममाथिको बलात्कार नै हो । यो एकदमै नराम्रो नहुनुपर्ने थियो भयो तर यसलाई सकारात्मकतातर्फ मोड्ने भनेको मेरो छोरा नै हो । उसलाई राख्दा, हुर्काउँदा मलाई कहिल्यै पछूतो भएन ।

(बीबीसी लाइभ ५ रेडियोमा क्याथरिन (नाम परिवर्तन)ले एम्मा बर्नेटसँग बिहीबार गरेको कुराकानीमा आधारित यो सत्यकथा हामीले बीबीसी न्युजबाट अनुवाद गरेका हौँ । धन्यवाद ।)

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै