• २०८१ बैशाख २० बिहीबार

चाल्नाखेलको गुम्बामा महिलाहरुमाथि यौनशोषण, एक जना 'धर्मगुरु' पक्राउ

kharibot

फाइल तस्बिर

काठमाडौं । आफूलाई अवतारी लामा भएको र दशौँ पुस्तासम्म एउटै कुलमा जन्मेको बताउँदै उपचारका लागि आउने महिलाहरुको यौनशोषण गरेको आरोपमा एक जना लामा धर्मगुरु पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दक्षिणकालीबाट मंगलबार रिम्पोछे छुल्ठिम दोर्जे योन्तान योन्जन टुल्कु लामालाई पक्राउ गरेको हो ।

आफूले जुनसुकै रोग पनि निको पार्न सक्ने दैवीशक्ति आफूसँग भएको बताउँदै उपचारका लागि आउने महिलालाई विश्वासमा पारी उनले यौनशोषण गर्ने गरेको सीआईबीको भनाइ छ । उनी दक्षिणकाली नगरपालिका १ चाल्नाखेल वोशनमा रहेको पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ परेका हुन् । लामा ५६ वर्षका हुन् । उनको स्थायी घर सिन्धुली कुसेश्वर दुम्जा-०९  हो ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

को हुन् रिम्पोछे टुल्कु लामा ?
टुल्कु लामा दक्षिणकालीस्थित चाल्नाखेलमा १० वर्षदेखि पेमा टासी छुल्ठिम घोम्बो कासुंग गुम्बा सञ्चालन गर्दै आएका थिए । उक्त गुम्बामा महिलाहरुको संख्या पनि धेरै थियो । उनले आफ्नो कोठामा उपचार गराउन आउने महिलालाई निर्वस्त्र पारेर यौनशोषण गर्ने गरेका थिए ।

महिलाहरुलाई आफ्नो कर्तुत फुत्केला भनेर उनले रोग बल्झिने डर देखाउने गरेको खुलेको छ । उनले आफूलाई ३३ कोटि देवताको अवतार भएको बताउँथे । त्यस्तै उनले महिलालाई अरुसँग विवाह गरे मृत्यु हुने डर देखाएर बारम्बार शारीरिक सम्पर्कका लागि बाध्य पार्थे ।

पीडित महिलाको उजुरीको आधारमा उनी पक्राउ परेको सीआईबीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै