• २०८१ बैशाख १४ शुक्रबार

समृद्ध नेपाल र सुखी नेपालका लागि वामपन्थी गठबन्धन : अध्यक्ष ओली

kharibot

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि वामपन्थी गठबन्धन बनेको बताउनुभएको छ । 

संयुक्त वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै  उनले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको बताए । 

वामपन्थीहरूको सरकार बन्ने दाबी गर्दै उनले भने, ‘वामपन्थीको सरकार बन्छ÷बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।’ स्थिर सरकार नहुँदा देशमा विकासले गति लिन नसकेको भन्दै उनले अब स्थिर सरकार बन्ने र विकासले गति लिने दाबी गरे । 

उनले भने ‘तमसुक गरेर सरकार चलाउने समय अब गयो ।’ निर्वाचनअघि प्राविधिक कारणले नेकपा एमाले र माओवादी केन्द्र एक हुन नभ्याएको भन्दै उनले निर्वाचनलगत्तै पार्टी एकीकरण हुने बताए । 

अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै उनले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह गरे । 

उनले वाम गठबन्धनका उम्मेवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवन क्षेत्र नं। ३ मा ३० हजार मतान्तरले विजयी गराउन आग्रह गरे । 

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताए । विकास र समृद्धिको नयाँ यात्रामा आफूहरू अघि बढेको भन्दै उनले नेपालको इज्जत र प्रतिष्ठा उठाउनका लागि वाम शक्ति एक हुनु परेको चर्चा गरे । 

कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले वामपन्थीहरूको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरुपमा स्वाधिन बन्ने बताए । 

माओवादी केन्द्रका नेता मात्रिका यादवले मधेशी र पहाडीबीचमा विभेद ल्याउन खोजिएको भन्दै यसविरुद्ध वाम गठबन्धन रहने बताए । 

कार्यक्रमलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाललगायतले सम्बोधन गरेका थिए । 

कार्यक्रमको पहिलो खण्डमा प्रकाश दाहालप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । सम्पूर्ण वक्ताहरूले दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको थियो । निकै पीडामा देखिनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यक्रममा बोलेनन् । 

कार्यक्रममा दाहाल, उनकी धर्मपत्नी सीता दाहाल, प्रकाशकी श्रीमती बिना थापामगर, छोरा, दिदी रेनु र बहिनी गंगा पनि सहभागी थिए । कार्यक्रममा रहुञ्जेल सीता दाहाल एकोहोरो भक्कानिएर रोइरहनुभएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै